‘बस त चले, यात्रु चढेनन्’

Posted on: 27 Sep, 2020

असोज ११, महेन्द्रनगर (रासस) । यातायात व्यवसायी प्रकाश पन्त लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्नुहुन्छ । उहाँ सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि  आफूहरु निराश नै देखिएको बताउनुहुन्छ ।

“बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन् ।” उहाँ भन्नुहुन्छ, “सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न नसक्ने अववस्था छ ।”

उहाँ भाडामा डेढ गुना वृृद्धि गरेर यातायात सञ्चालन गर्न भने पनि आफूहरु मारमै रहेको  र  बैंकको किस्ता तिर्न समस्या परेको  बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ,“यस्तै अवस्था रहे व्यवयासीले पलायन हुनुपर्ने अवस्था छ । कोरोना कहरमा यातायात व्यवसायी नराम्ररी प्रभावित भएका छन् ।

” यहाँबाट चल्ने लामो मात्रै नभई छोटो दूरीका सवारीधनी पनि यात्रु नआउँदा मारमा परेका छन् । “छ महिना लामो लकडाउन खुलेपनि सवारी साधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता छ ।”  व्यवसायी करनसिंह साउदले भन्नुहुन्छ, “यात्रु नै नपाएपछि चलाएर पनि केही सहज होला जस्तो छैन ।”

यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका बसका चालक र सहचालक पनि यात्रु नपाउँदा भने निराश छन् । यस्तै लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्ने यातायात उनीहरुको माग छ । “सबै क्षेत्र सञ्चालनमा आएपछि मात्रै यातायात सञ्चालन गरेको औचित्य पूरा हुने देखिन्छ ।” व्यवसायी साउद भन्नुहुन्छ, “ अहिले त सडकमा घाटामा गाडी गुडाउनुपरेको छ ।”

उहाँ यातायात व्यवसायीलाई बैंकको ब्याज मिनाह गरेर सहयोग गर्न सरकारसित आग्रह गर्नुहुन्छ । त्यसैगरी अर्का यातायात व्यवसायी जनकराज भट्टले सञ्चालन भएको यातायातलाई पनि थप व्यवस्थित गर्न माग गर्नुहुन्छ । “यातायात नचल्दा यसक्षेत्रका मजदुरहरु पनि मारमा परे ।” उहाँ भन्नुहुन्छ, “विपन्न र गरिबलाई स्थानीय सरकारले राहत दिएपनि यातायात मजदुर कसैको नजरमा परेनन् ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!