कुलमानको बिदाई, कोइराला बने विद्युत प्राधिकरणको कार्यकारी निर्देशक

Posted on: 15 Sep, 2020

भदौ ३०, काठमाडौँ (रासस) । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आज मन्त्रीस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको हो ।

यही भदौ २९ गते चारवर्षे कार्यकाल पूरा गरी आज विदाई समेत हुनुभएका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत कोइरालालाई नै यसअघि पटकपटक निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आउनुभएको थियो । प्राधिकरणमा कार्यरत उपकार्यकारी निर्देशकहरुमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुनुहुन्छ ।


वरिष्ठतालाई समेत ख्याल गरेर आज मन्त्रीस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!