सर्लाहीमा सब–स्टेशन निर्माण शुरु

Posted on: 14 Sep, 2020

भदौ २९, सर्लाही (रासस) । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेशन निर्माण शुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२÷३३ केभीए लाइनको लागि सब–स्टेशनको निर्माण कार्य शुरु भएको हो ।

जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सब–स्टेशन निर्माण कार्यलाई तीब्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको करीब रु १५ करोडको लागतमा विद्युत् सब–स्टेशन निर्माण शुरु भएको हो । 

अठार महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ भदौबाट निर्माण शुरु गरेको सब–स्टेशनका प्रमुख निरन्जन साहले जानकारी दिनुभयो । सब–स्टेशन निर्माण सम्पन्न भएपछि हरिपुर, मलङ्गवामा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत् अभावको समस्या समाधान हुने प्रमुख साहले बताउनुभयो । अहिले जिल्लामा व्यवस्थित सब–स्टेशन नहुँदा धनुषाको ढल्केवर र रौतहटको चपुरको सब–स्टेशनबाट विद्युत् ल्याउनु परिरहेको छ । 

जिल्लामा उद्योगधन्दा तथा कलकारखानाहरु दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई मध्यनजर गर्दै सब–स्टेशन निर्माण शुरु गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधिरकुमार रायले बताउनुभयो । डेढ वर्षभित्र सम्पन्न गर्ने गरी पावाटेक र वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!