कार्यालयमै प्रमुखलाई कुटेर कानुनबाट बच्न यौन दुर्व्यवहारको आरोप !

Posted on: 02 Aug, 2020

साउन १८, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई उनकै कार्यालयका करार कर्मचारीले कुटेका छन् । 

शुक्रबार विहान करिब ११ बजे कार्यकक्षमा प्रवेश गरेका कर्मचारी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले सञ्जेलमाथि कुटपिट गरेका थिए । कुटपिटबाट सञ्जेलको अनुहार र हातमा चोट लागेको छ ।

संजेलले आफूलाई कुटपिट गर्ने कर्मचारी बिरुद्ध मुद्धा दिएपछि उक्त मुद्धाबाट बच्न महिलाहरुले भने उपसचिव सञ्जेलले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएका छन् । तर महिलाहरुको आरोप प्रमाणित हुने आधार नभएको भन्दै प्रहरीले उनीहरुको मुद्दा  लिएको छैन । महिलाहरुले ओरेक नेपाल नामक संस्थाको सहयोगमा यौन दुर्व्यवहारको जाहेरी दर्ता गराउन कोसिस गरेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का कार्यालय प्रमुखलाई कुटपिट गरेपछि महिलाले दुर्व्यवहारको आरोप लगाएको बताएका छन् । उनले भनेका छन् 'दुर्व्यवहार भएको भए कारवाहीका लागि कानुन थियो, कार्यालय प्रमुखलाई कार्यकक्षमा कुटपिट गरेपछि आरोप लगाएको देखियो ।'

प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । संजेलले आफूमाथि कुटपिट गर्नेहरुमाथि ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । तर प्रहरीले अभद्र व्यवहारमा जाहेरी दर्ता गराएको र आइतबार म्याद थप गरेको छ । 

कर्मचारीहरु बर्खास्त 

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने कर्मचारीलाई कामबाट निकालेका छन् ।

सञ्जेलले शुक्रबार करारमा कार्यरत नायव सुब्बा निर्मलकुमार दाहाललाई कामबाट निकालिलेका थिए । दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला)का बहिनी ज्वाई हुन् । त्यही कारण आफूमाथि योजनावद्ध रुपमा आक्रमण भएको संजेलले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!