सर्लाहीमा चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते, करेन्ट लागेर एकको मृत्यु

Posted on: 09 Jul, 2020

असार २५, सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक जनाको निधन र दुई जना घाइते भएका छन् ।  रोपाइँ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको आज निधन भएको प्रहरीले जनाएको छ ।

आज बिहान वागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा परेको चट्याङ लागेर पासवानको निधन र कमलादेवी मुखिया घाइते भएका थिए । चट्याङ लागेर बेहोस भएका दुवै जनालाई उपचारका लागि बरहथवातर्फ लगिँदै गर्दा पासवानको निधन भएको र  मुखिया होसमा आई घर फर्किसकेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै चट्याङ लागेर जिल्लाको बलरा नगरपालिकामा एक युवक घाइते भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बलरा नगरपालिका–१ का ३५ वर्षीय बरुण सहनी घाइते भएका हुन् । उनीलाई उपचारका लागि भारतको सितामढीतर्फ लगिएको  प्रहरीले जनाएको छ ।     

करेन्ट लागेर एकको निधन

जिल्लामा करेन्ट लागेर एक जनाको निधन भएको छ । निधन हुनेमा  ईश्वरपुर नगरपालिका वडा नं ३ बानटोल बस्ने ४२ वर्षीय जदु सहनी रहेको प्रहरीले जनाएको छ ।  गएराति आफ्नै घरमा बिजुलीको प्लग जोड्ने क्रममा उनीलाई करेन्ट लागेर निधन भएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर बनेका उनीलाई उपचारका लागि बयलवासतर्फ लगिँदै गर्दा बाटोमै निधन भएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।

 यसैबीच सर्लाहीको वागमती नगरपालिकामा डुबेर एक व्यक्तिको निधन भएको छ । वागमती नगरपालिका वडा नं १ सैलुङडाँडा बस्ने ४५ वर्षीय कलमान लोप्चनको पँधेरीखोल्सीमा डुबेर निधन भएको प्रहरीले जनाएको छ । बुधबार साँझ लोप्चनको पँधेरीखोल्सीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । शव परीक्षणका लागि दुवै जनाको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!