महोत्तरीमा क्वारेन्टिन केन्द्र स्वात्तै घटे

Posted on: 09 Jul, 2020

असार २५, महोत्तरी । महोत्तरीमा कोभिड–१९ रोकथामका लागि सञ्चालित क्वारेन्टिन केन्द्र स्वात्तै घटेका छन् । जिल्लामा १०० भन्दा माथि पुगेका केन्द्रहरु घटेर अहिले ३२ कायम भएका छन् । केन्द्रमा बस्नेहरु परीक्षणपछि घर फर्केपछि क्वारेन्टिन केन्द्रको सङ्ख्या कम भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जेठमध्यताका भारतबाट घर फर्कनेको चाप बढेसँगै जिल्लामा १०५ सम्म क्वारेन्टिन केन्द्र सञ्चालनमा थिए । केन्द्रमा बस्नेको सङ्ख्या तीन हजारसम्म पुगेको थियो । क्रमशः जाँचपछि सङ्क्रमण पुष्टि भएका आइसोलेसनमा गएका र परीक्षण नतिजा नेगेटिभ भएका घर फर्केपछि केन्द्रको सङ्ख्या घटेका कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिनुभएको हो । अहिले केन्द्रमा ३२३ पुरुष र १८ महिलासमेत ३४१ जना रहेका छन् ।

जिल्लामा अहिले आइसोलेसनमा रहनेको सङ्ख्या पनि घटेर ९३ कायम छ । सङ्क्रमित उपचारपछि निको भएर घर फर्केपछि अहिले आइसोलेसनमा रहेकाहरुको सङ्ख्या ९३ कायम भएको हो । महोत्तरीमा पछिल्लोपटक बुधबार सङ्क्रमित नथपिएका कार्यालयले जनाएको छ । जिल्लामा कूल ७८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । जम्मा १५ स्थानीय तह रहेका जिल्लाको सबै ठाउँमा धेरथोर सङ्क्रमण पुष्टि भएका छन् । जिल्लाको पश्चिमवर्ती भारतसँग सीमा जोडिएको सम्सी गाउँपालिकामा सबैभन्दा बढी २७५ सङ्क्रमित भएका पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाको भनाइ छ ।

 पछिल्ला दिनमा सतर्कता भने घट्दै गएपछि सङ्क्रमण फेरि बढ्न सक्ने स्वास्थ्यकर्मीको चिन्ता छ । असार शुरु भएयता लकडाउन खुकुलिएसँगै जिल्लाका सबै बजार खोलिएका छन् । सीमा क्षेत्रमा पनि निर्वाध आवागमन बढेको छ । स–साना टेम्पु र म्याजिकजस्ता सवारी साधन चल्न थालेपछि सङ्क्रमण जोखिम भने झनै बढेको स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका हुन् । शारीरिक दूरी निर्वाह गर्ने, सबैले अनिवार्य मास्क लगाउने र कोरोना सतर्कतासँग जोडिएका आन्तरिक सुरक्षा प्रबन्ध अपनाउन पनि लापरवाही बढेको वरिष्ठ स्वास्थ्य निरीक्षक झाले चिन्ता व्यक्त गर्नुभयो । यसतर्फ स्थानीय तहले आवश्यक सतर्कता बढाउन आवश्यक देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!