प्रदेश नं १ मा १७ सङ्क्रमित थपिए, ४९ जना घर फर्किए

Posted on: 09 Jul, 2020

असार २५, विराटनगर । प्रदेश नं १ मा १७ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई÷दुई जनामा नयाँ सङ्क्रमण देखिएको हो ।

मोरङको लेटाङमा एक र धनपालथानमा दुई, झापाको मेचीनगरमा एक महिलासहित पाँच, विर्तामोड र हल्दिबारीमा एक–एक, सुनसरीको इटहरीमा दुई, तेह्रथुमको लालीगुराँसमा एक, ताप्लेजुङको फुङलिङमा एक महिलासहित दुई र इलामको सन्दकपुरमा दुई जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७०२ पुगेको छ ।

यस्तै प्रदेशमा ४९ सङ्क्रमित निको भई घर फर्केका छन् । यसरी निको हुनेमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका १४ र पूर्वाञ्चलविश्व विद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट ३५ छन् । निको हुने सङ्क्रमितमा १० महिलासहित ४९ रहेका मन्त्रालयले जनाएको छ । प्रदेशबाट निको हुने सङ्क्रमितको सङ्ख्या ५२७ पुगेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!