सिमानामा क्वारेन्टिन निर्माण गर्न माग

Posted on: 30 May, 2020

जेठ १७, जाजरकोट | कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहँदा दिनहुँ बाहिर जिल्ला र विदेशबाट आउनेले प्रहरीलाई झस्काउने गर्दछ ।   जाजरकोट र सुर्खेतको सिमाना रहेको शिवालय गाउँपालिका–१ छेडाबजारमा रहेका प्रहरीलाई दैनिक हैरानि हुँदै आएको छ । 

दिनमा भन्दा राति बढी मानिस बाहिर जिल्ला , भारत र अन्य मुलुकबाट आउने मूलबाटो यही हो । प्रहरीसँग व्यक्तिगत सुरक्षा सामग्री पनि छैन ।   अन्य मानिसलाई उपलब्ध गराउने सामग्री तथा  खाद्यान्न नहुँदा दैनिक हैरानी हुँदै आएको छ ।  भोकै रहेका र  क्वारेन्टिनमा बस्न नमान्ने मानिसको आगमन हुँदा प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको यहाँका  प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “प्रहरीले व्यक्तिगतरुपमा यहाँ आएका नागरिकलाई सम्झाउन मुस्किल पर्ने अवस्था छ । हामीसँग  भोकभोकै आएकालाई खाना खुवाउने आवश्यक रकम समेत  छैन । उहाँहरु पनि   पैसा छैन भन्नुहुन्छ ।” 

जाँचबिना आएका मानिस नियन्त्रण गर्न हामीसँग जनशक्तिसमेत कम हुँदा थप समस्या भएको भन्दै उहाँले थप्नुभयो, “बाहिरबाट आएका व्यक्तिलाई होटलमा समेत राख्न नमान्दा अर्को हैरान हुँदै आएको छ । प्रहरीले आफ्नो तलबबाट स्थानीय पसलबाट चाउचाउ किनेर नास्ता खुवाई नजिकै रहेको ओडारमा सुताउने गरेको छ ।” 

राति राति आउने मानिसका कारण  जोखिम बढ्दै आएको प्रहरीको भनाइ छ । प्रहरीले सिमाना क्षेत्र प्रत्येक गाउँपालिकाका एकजना व्यवस्थापक पठाउनसमेत र सीमा क्षेत्रमा खटिएका प्रहरीको स्वास्थ्य जाँच गराउनसमेत आग्रह गरेको छ । 

जाजरकोट, पश्चिम रुकुम, डोल्पालगायत जिल्लाका मानिस आउने मुख्य नाका रहेको छेडाबजारमा प्रहरीलाई दैनिक हैरान भएको स्थानीय पूर्णसमिर महतराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले क्वारेन्टिनमा बस्नुपर्ने भनेर रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोज्छन् । यस्तो अवस्थामा कसरी काम गर्ने ? यहाँ सबै गाउँपालिकाले आफ्ना कर्मचारी तथा जनप्रतिनिधि खटाउनुपर्छ । धेरै मानिस प्रहरीसँग भिडेर, लुकीछिमी घरमा गएर बस्ने गरेका छन् ।”  बाहिरबाट आएका मानिसलाई व्यवस्थापनमा चुनौती देखिएकाले सो बजारमा क्वारेन्टिन निर्माण गर्न प्रहरी र स्थानीयवासीले माग गरेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!