नेपालमा कोरोना संक्रमित १२ सय काटे, निको हुनेको संख्या २०६

Posted on: 29 May, 2020

जेठ १६, काठमाडौँ | शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उनले बताए । 

यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा पोजेटिभ देखिएको छ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा आरडिटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!