सोती घटना: छानबिन समितिद्वारा काम शुरु

Posted on: 29 May, 2020

जेठ १६, काठमाडौँ | सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । 

 समितिले आज  पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ ।  सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

 समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक र  गणेश बुढा तथा भेरी –११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ  । भेरी –११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

 समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएको  अधिकारकर्मी पार्वती विकले बताउनुभयो । उक्त ज्ञापनपत्र बुझ्दै संयोजक  बस्नेतले सरकारले दिएको कार्यादेशका आधारमा काम हुने बताउनुभयो । उहाँले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइनेसमेत जानकारी दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति  श्रद्धाञ्जलि व्यक्त गरेको र हराएकाहरुको खोजी जारी रहेको सन्देश पठाएकोसमेत संयोजक बस्नेतले जानकारी दिनुभयो ।  शव हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको उहाँको भनाइ छ ।

आज नै उक्त टोली रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जाने प्रजिअ पन्तले  जानकारी दिनुभयो । सो समितिमा गृह मन्त्रालयका सहसचिव  बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ठ घिमिरे र उपसचिव माधव ढकाल छन् ।  यही जेठ १० गते चौरजहारी –८ सोतीमा भएको सो घटनामा   नवराज, टीकाराम, गणेश , लोकेन्द्र र सञ्जुको शव भेरी नदीका विभिन्न स्थानमा फेला परेको छ भने अर्का एक गणेश शाहीको खोजी जारी  छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!