‘तपाईंको सरकार छ, भोकले कोही मर्नुपर्दैन’

Posted on: 28 Mar, 2020

तारानाथ आचार्य | चैत १५, बलेवा | कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेका मजदूर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् । 

हुँदा खाने वर्गको पक्षमा स्थानीय सरकारको अनुभूति दिलाउन लगत सङ्कलन गरी खाद्यान्नको जोहो गर्न स्थानीय तहले सक्रियता बढाएका छन् । बागलुङ, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाले मजदूर र विपन्न नागरिक भोकै बस्न नपरोस् भन्दै भोजनको व्यवस्थासंँगै खाद्यान्न उपलब्ध गराउने कार्यक्रम ल्याएका छन् ।

‘लकडाउनमा काम गर्न नपाएर कोही भोकै मर्नु पर्दैन’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भन्नुभयो ‘ढुक्क हुनुहोस्, भोक र दुःखमा साथ दिने तपाईंको सरकार छ ।’ ‘महामारीको रोकथामका लागि भरहेको प्रयासमा हातेमालो गर्ने जुनसुकै नागरिकलाई पर्ने असजिलोमा सारथी बन्नु स्थानीय सरकारको दायित्व हो’ पौडेलले भन्नुभयो । 

जैमिनी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका र अति विपन्न परिवारलाई बिहानबेलुकीको छाक नटरे वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ । वडा अध्यक्षले उनीहरुको अवस्था पहिचान गरी नगरपालिकाका तर्फबाट दैनिक खर्च चलाउन नगद तथा खाद्यान्न उपलब्ध गराउने नगरप्रमुख पौडेलले बताउनुभयो ।

बागलुङ नगरपालिकाले बेसहारा नागरिकलाई दिवा खानाको व्यवस्था गर्ने भएको छ । लकडाउनका कारण रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएकाहरुलाई शनिबारदेखि दिवा खाना खुवाउने व्यवस्था मिलाइएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । तिरुपती बालाजीधाम शालिग्राम संग्रहालयको व्यवस्थापनमा धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा गरीब र अति विपन्नलाई दिवा खाना खुवाइने छ । 

नगरपालिकाले घनाबस्ती भएको बजारमा कीटाणु मार्ने औषधि पनि  छर्किन शुरु गरिसकेको छ । नगरपालिकाले कोरोना रोकथामका लागि  १५ लाखको राहत तथा उद्दार कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।

लकडाउन लम्बिँदै गर्दा अलपत्र  १४ मजदूरलाई उद्योग वाणिज्य संघ बागलुङले निःशुल्क खाना खाने व्यवस्था गर्ने भएको छ । सङ्घले उनीहरुलाई तत्कालका लागि खानका लागि खाद्यान्न जोहो गराउने महासचिव नरेश कँडेलले बताउनुभयो । बागुलङ नगर खानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने १४ मजदूर जाजरकोटका हुन् । उनीहरुले घरजाने वा खानेबस्ने व्यवस्थापन मिलाइदिन आयोजनासंँग आग्रह गरेका छन् । जयमाता कन्काइ जेभी निर्माण कम्पनीका साइट इन्चार्ज गौतम भुसालले भने उनीहरुलाई खानेबस्ने व्यवस्था मिलाइने बताउनुभयो । 

लकडाउनका समयमा खाद्यान्न उपलब्ध गराउने घोषणा गरेको काठेखोला गाउँपालिकाले वडा तहबाट लगत सङ्कलनको काम सकेको छ । गाउँपालिकाका आठवटै वडामा रहेका विपन्न र मजदूरको लगत संकलन भइसकेकाले राहत वितरणको काम अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताउनुभयो । 

गाउँपालिकाले अति विपन्न र छाक टार्नै मुश्किल भएका २० भन्दा बढी नहुने गरी प्रत्येक वडामा एक बोरा चामल र तीन किलोग्राम दाल दिने विधि बनाएको छ । जनसङ्ख्या धेरै भएका वडामा भने तीस जनासम्मले सामग्री पाउने छन् । वडा नं २ भीमापोखराका १३ परिवारलाई सामग्री वितरण गरिसकिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो । 

नेताहरु पढ्दै, समाचार सुन्दै 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर सञ्चालन गरेको पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान कोरोना भाइरसका कारण रोकिएको छ । पार्टी अभियानसंँगै कोरोना भाइरसबारे सचेतना चलाएको थियो  तर त्यो अभियान अहिले रोकिएको छ । अभियान लिएर गाउँगाउँमा पुगेका नेताहरु अहिले घरमै बसेर लकडाउनको पालना गरिरहेका छन् । ‘देश लकडाउन गएपछि त्यसको कार्यान्वयन गर्नैपर्छ’, बानपा–१२ अमलाचौरको घरमा दिन बिताइहनुभएका संघीय सांसद डा सूर्य पाठकले भन्नुभयोे, ‘कोरोना भाइरसविरुद्धको युद्ध जित्न अनुशासनमा बस्नुपर्छ । कोरोनाबारे देशविदेशमा भइरहेका गतिविधि नियाल्ने र समाचार फलो गर्ने काम भइरहेको छ ।’ सांसद पाठकले कोरोना भाइरसको विरुद्व लड्न सरकारले स्थापना गरेको ‘राहत कोष’मा एक महिनाको तलब उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौर घर भएका सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाको ध्यान ‘म्याग्दीको इतिहास’ सम्बन्धी पुस्तकमा केन्द्रित छ । ‘पुस्तक अध्ययनसंँगै टिभी हेर्ने र कोरोनासम्बन्धी जिल्लामा के भइरहेको छ भन्नेबारे समाचारमा अपडेट हुने काम भएको छ’, सांसद थापाले भन्नुभयो । कोरोना संक्रमण भित्रन नदिन हरेक नागरिक संयमित भएर लकडाउनको आदेशलाई पालना गर्नुपर्ने थापाको सुझाव छ ।

अर्का सांसद पर्वतका पदम गिरीको दिनचर्या पनि पुस्तक अध्ययन, कोरोना भाइरससम्बन्धी समाचार अपडेट हरेर नै बित्ने गरेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङ्गस्थित घरमै रहनुभएका सांसद गिरीले भन्नुभयो, ‘घरमै बसेर देशको अवस्था नियालिरहेको छु ।’ सरकारले गरेको निर्णय कार्यायन्वयन गराउने दायित्व पूरा गर्न आफू क्रियाशील रहेको सांसद गिरीको भनाइ छ । प्रतिनिधिसभा सांसद गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

‘कार्यक्रम सहभागी हुने र साथीभाईसँग भेटघाट गरिरहेको बानी भुलाउन गाह्रो हुँदोरहेछ’, पोखरास्थित डेरामा रहनुभएका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले सरकारको निर्णय कार्यान्वयन गराउन  सबैले दिनचर्यामा परिवर्तन गराउन जरुरी भएको बताउनुभयो । ‘कोरोनासम्बन्धी समाचार सम्प्रेषण गर्ने, साथीहरुलाई सरसहयोग गर्ने र पुस्तक पढेर दिन बित्ने गरेको छ’,  सापकोटाले भन्नुभयो । नेकपा बागलुङका जिल्ला अध्यक्ष  सापकोटालाई लकडाउनले पोखरामा नै थुनेको छ ।

‘जहाँ बसेपनि बन्दी जीवन हो, त्यसैले पोखरामै छु’ नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेलले भन्नुभयो, ‘अध्ययन गर्ने, समाचार अपडेट गरेर दिन बिताउने काम भएको छ ।’ नेकपा नेता  चन्द्र बुढा सागर पोखरामा हुनुहुन्छ । ‘होम क्वारेन्टाइनमा दिन बितेको छ’, गण्डकी प्रदेशसभा सदस्य बुढाले भन्नुभयो, ‘घाम ताप्ने र अध्ययन गर्ने त्यही त काम हो ।’ कांग्रेस सभासद् कोपिला बोहराले समाचार हेरेर दिन कटाएको प्रतिक्रिया दिनुभयो । ‘गाउँ आउने कार्यक्रम थियो लकडाउनले रोकियो’, पोखरामा रहनुभएका राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभासद् कृष्ण थापाले भन्नुभयो, ‘परिवारसँग बसेर आफ्नो क्षेत्रका गुनासो सुन्ने काम गरिरहेको छु ।’ रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!