प्युठानमा विदेशबाट फर्केकाको लगत सङ्कलन गरिँदै

Posted on: 25 Mar, 2020

चैत १२, प्युठान | प्युठानका नौ वटै स्थानिय तहले देशभन्दा बाहिरबाट आएका व्यक्तिको लगत सङ्कलन थालिएको छ । दुई नगरपालिका र  सात गाउँपालिकामा लगत सङ्कलन कार्य थालिएको हो । 

वडा कार्यालयमार्फत लगत सङ्कलनको कार्य गरिएको छ । आईतबार विपद् व्यवस्थापन समितिको बैठकले स्थानिय तहले लगत सङ्कलन गर्न स्थानिय तहका प्रमुखलाई आग्रह गरेसँगै स्थानीय तहले लगत सङ्कलन गर्न थालेको हो । प्युठान नगरपालिका वडा नं ९ र १० ले विदेशबाट आएका मानिसको खोजीकार्य थालेको छ । विदेशबाट मानिस दैनिकरूपमा आउन थालेपछि लगत सङ्कलन गर्न लागिएको वडा नम्बर ९ का अध्यक्ष नेहरसिंह केसीले जानकारी दिनुभयो । 

विदेशबाट फर्केकामा कोरोना भाइरस संक्रमण हुन सक्ने त्रास बढेपछि उनीहरूको लगत सङ्कलन गरी व्यवस्थापन गर्न थालिएको केसीको भनाइ छ । अहिलेसम्म वैदेशिक रोजगारीबाट आएका मध्ये २५ जनाको लगत तयार गरिएको स्वास्थ्य चौकी प्रमुख रन्जना केसीले बताउनुभयो । अझै आउने क्रम नरोकिएको र यसले गाउँमा बिकराल समस्या ल्याउन सक्ने भन्दै सबै सचेत रहनुपर्ने उहाँले बताउनुभयो । 

विदेशबाट फर्केकाको लगत सङ्कलन गरि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको वडा सचिव धु्रव जिसीले जानकारी दिनुभयो । यससँगै जिल्लाका अन्य स्थानीय तहले पनि सोमबारदेखि लगत सङ्कलनको कार्य थालेका छन् । स्थानीय तहले कतार, दुबई र भारतलगायतका देशबाट फर्केका व्यक्तिलाई  घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।  विदेशबाट फर्किएकाहरू १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ । प्रत्येक वडा टोलमा स्वास्थ्यकर्मीसहितको टोलीले विदेशबाट फर्किएका व्यक्तिलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी दिने र आ–आफ्नो घरमा अरुसँग सम्पर्क नहुने गरी बस्न भनिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!