आदेश उल्लङ्घन गर्ने पाँच पक्राउ

Posted on: 25 Mar, 2020

चैत १२, कंचनपुर | विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने पाँच जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरूलाई कञ्चनपुरको भीमदत्तनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

आदेश विपरीत सञ्चालन गरेका सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिनुभयो । “नियन्त्रणमा लिएकालाई साँझ छोड्र्छौँ”, उहाँले भन्नुभयो । प्रहरीले सूचना जारी गरी लकडाउनबारे माइकिङ समेत गर्दै आएको छ । वडा प्रहरी कार्यालय भीमदत्तनगरले मङ्गलबार पनि लकडाउनलाई बेवास्ता गर्नेलाई नियन्त्रणमा लिएको थियो । 

यसैबीच पश्चिमी नाका गड्डाचौकीको अवस्था आज सामान्य रहेको छ । बिहानैदेखि जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरिएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले सशस्त्र प्रहरीलाई बजार, सीमा र राजमार्गमा बिहानैदेखि परिचालन गरिएको बताउनुभयो । मङ्गलबार सीमामा अलपत्र परेका यात्रुको स्वास्थ्य परीक्षण गरी गन्तव्यतर्फ पठाइएको पनि उहाँले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!