काभ्रेपलाञ्चोकमा बस दुर्घटनामा एक जनाको मृत्यु, २४ जना घाइते

Posted on: 11 Nov, 2019

कात्तिक २५, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा आज अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै २४ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकबाट करीब १०० मिटर तल खस्दा बसमा यात्रारत अन्दाजी वर्ष ६५ का एक पुरुषको मृत्यु भएको छ ।

बाँकी घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेकामा तीन जनाको थप उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल पठाइएको र बाँकी २१ को धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ । काठमाडौँ सिफारिस गरिएका नीरज कुँवर, विवेक तामाङ र राजु तामाङ तीनै जना तेमालका रहेका प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!