विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते

Posted on: 23 Oct, 2019

कात्तिक ६, काठमाडौँ | काठमाडौँको तारकेश्वर नगरपालिका–३ जीतपुरमा विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका–३ मा रहेको तारकेश्वर विद्याकुञ्ज सेकेण्डरी स्कुलको पहिलो तल्लामा रहेको बरण्डा भत्किँदा सोही विद्यालयका ३६ विद्यार्थी घाइते भएका हुन् । 

घाइते विद्यार्थीको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारका प्रमुख, प्रहरी नायब निरीक्षक चन्द्र अधिकारीले एकतला माथि बसेर विद्यालयको फुटबल प्रतियोगिता हेरिरहेको अवस्थामा दुर्घटना भएको जानकारी दिनुभयो । 

दुर्घटनामा नौ वर्षीय सुमिका लामा र १० वर्षीय सन्जु थिङ गम्भीर घाइते भएका छन् । लामाको टाउकोमा र थिङको च्युँडोमा चोटपटक लागेको अधिकारीले बताउनुभयो । विद्यालयका प्राचार्य दीपक धितालले बरण्डामा बसेर खेलकूद प्रतियोगिता हेरिरहेको अवस्थामा भत्किएर दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । घाइते हुनेमा कक्षा ३ देखि ६ कक्षामा पढ्ने विद्यार्थी रहेको प्राचार्य धितालले बताउनुभयो । गम्भिर चोट लागेर अस्पताल भर्ना हुने घाईतेको सङ्ख्या बढ्दो रहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!