बाँकेको राप्तीसोनारी गाउँपालिकाद्वारा शैक्षिक गुणस्तर बढाउन विशेष कार्यक्रम

Posted on: 26 Aug, 2019

भदौ ९, बाँके | सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन बाँकेको राप्तीसोनारी गाउँपालिकाले विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यालयमा शिक्षण सहयोग अनुदान, नमूना विद्यालय विकास, सहयोगी कार्यकर्ता र कर्मचारीलाई पोशाक भत्ता वितरण तथा साक्षर गाउँपालिका घोषणा गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ । 

गाउँपालिकाले विद्यार्थी र शिक्षकको अनुपातका आधारमा शिक्षण सहयोग अनुदान कार्यक्रम लागू गरेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको अनुदानमा माध्यमिक तहमा २०, निम्न माध्यमिक तहमा ४८ र प्राथमिक तहमा ३२ जना शिक्षक नियुक्त गरिएको छ ।  

गाउँपालिकाले माध्यमिक तहका शिक्षकलाई रु २० हजार, निम्न माध्यमिकलाई रु १५ हजार र प्राथमिक तहकालाई रु १० हजारका दरले मासिकरुपमा तलब खुवाउनेछ । गाउँ कार्यपालिकाको बैठकले उक्त अनुदानलाई स्वीकृत गरेको अध्यक्ष थारुले बताउनुभयो । 


यस्तै नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्म सञ्चालित प्राथमिक तहको एउटा विद्यालयलाई रु दुई लाख, कक्षा १ देखि ८ सम्म सञ्चालित आधारभूत तहको एउटा विद्यालयलाई रु तीन लाख र माध्यमिक तहसम्मको एउटा विद्यालयलाई रु पाँच/पाँच लाख प्रदान गरिनेछ । विद्यार्थी सङ्ख्या धेरै, शिक्षक सङ्ख्या थोरै र राम्रो सिकाइ उपलब्धि भएको विद्यालयलाई छनोट गरेर उक्त रकम प्रदान गरिनेछ । 

यसैगरी बाल विकासमा कार्यरत सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई पोशाक भत्ता वितरणका लागि विवरण सङ्कलन गरिएको छ । 

विपन्न तथा अनाथ मुस्लिम बालबालिकालाई सहयोग 

बाँकेका मुस्लिम समुदायका गरीब, असहाय, विपन्न तथा अनाथ बालबालिकालाई दोस्रो किस्ताको छात्रवृत्ति रकम उपलब्ध गराइएको छ । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले त्यस्ता परिवारका बालबालिका, शिक्षक र अभिभावकलाई आज एक सहयोग रकमको चेक उपलब्ध गराएको छ । 

जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत ४५ जना बालबालिकालाई छात्रवृत्ति सहयोग, पाँच जना शिक्षकको पारिश्रमिक र एक परिवारलाई गरी ५१ जनालाई रु १५ हजारदेखि रु ३५ हजारसम्मको सहयोग उपलब्ध गराइएको क्लबका अध्यक्ष प्रबेजअलि सिद्दिकीले बताउनुभयो । 

कार्यक्रममा कतार च्यारेटीका संरक्षण अधिकृत जियाउल रहमान खा, क्लबका सल्लाहकार राकेशकुमार मिश्र, वित्त तथा प्रशासन प्रमुख बेदप्रकाश पङ्गाली र आइडियल पब्लिक स्कुलका प्रिन्सिपल इलियास अन्सारीले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!