सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

Posted on: 19 Jul, 2019

साउन ३, काठमाडौँ  | राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार सम्प्रेषण गर्न रासस दत्तचित्त रहेको बताउनुभएको छ ।  नेपाली सेनाको सिसं २० जनसम्पर्क अधिकृत तालीमका प्रशिक्षार्थी अधिकृतसहितको टोलीलाई राससको समाचार सङ्कलन, सम्पादन र वितरणबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “राससले सत्य र तथ्यको नजीक पुगेर समाचार सम्प्रेषणलाई जोड दिँदै आएको छ । राससका समाचारलाई धेरै सञ्चारमाध्यमले विषयवस्तुको पुष्ट्याइँका लागि पनि अनुसरण गर्ने गरेका छन् ।”

अध्यक्ष अधिकारीले गौरवमय इतिहास रहेको नेपाली सेनाले कुनै पनि कालखण्डमा विवादित र विभाजित नभई मुलुक र जनताका खातिर एक ढिक्का भएर काम गरेको भनी प्रशंसा पनि गर्नुभयो ।

सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले समितिले राज्य र जनताका सरोकार र चासोका विषयवस्तुलाई समाचारका माध्यमबाट जनतामै पु¥याउने सेतुको काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “रासस राज्यको आधिकारिक समाचार समिति रहेको र यसको सञ्जाल देशैभर रहेको हुँदा अहिले समितिले ‘मिडियाको पनि मिडिया’का रुपमा रहेर काम गर्दै आएको छ ।”

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र सुरक्षासम्बन्धी संवेदनशील विषयबाहेक  सेनासँग सम्बन्धित जानकारी र सूचना निरन्तर एवं सहजरुपमा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको बताउनुभयो । 

राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीलेसूचना सम्प्रेषणमा राससले पु¥याइरहेको योगदान र भूमिकाका बारेमा सैनिक टोलीलाई जानकारी दिनुभयो । कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले नेपाली सेनासम्बन्धी गतिविधि र समाचारलाई राससले उच्च प्राथमिकता दिने गरेको बताउनुभयो । 

सो अवसरमा राससका प्रधानसम्पादक श्यामप्रसाद रिमाल, अन्तरराष्ट्रिय समाचार शाखा प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता तीर्थप्रसाद भट्टराई, अङ्ग्रेजी समाचार सम्पादन शाखाका प्रमुख दीपराज सन्याल र तस्वीर सम्पादन शाखाका प्रमुख जगतकृष्ण श्रेष्ठले राससका समाचार, तस्वीर, श्रव्यदृश्य सङ्कलन, सम्पादन र वितरणलगायत विषयमा जानकारी दिनुभएको थियो । सोह्र जना प्रशिक्षार्थी अधिकृत टोलीले राससका विभिन्न शाखाको भूमिका र समाचार सेवाका बारेमा जानकारी लिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!