काभ्रेपलाञ्चोकमा पहिरोले घर पुर्दा दुईको मृत्यु

Posted on: 12 Jul, 2019

असार २७, काभ्रेपलाञ्चोक | अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् ।

स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उहाँकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको थियो भने बुहारी ३० वर्षीया सुशीला र  उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएका थिए । घरमा रहेका चारैजना घरभित्र पुरिएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयाज सापकोटाले जानकारी दिनुभयो । 

घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण चौँरीदेउराली–४ मजुवामा आज बिहान पहिरोले तीन घरमा क्षति पु¥याएको छ । स्थानीयवासी दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमा पहिरोले क्षति पु¥याएको पीडित गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानको समयमा पहिरोले क्षति घरमा पुर्दा पनि मानवीय क्षति भने भएको छैन । पहिरोले मजुवामै रहेको कुशल कृषि उत्पादक समूहद्वारा सञ्चालित बाख्रापालन फार्ममा क्षति पुगेको सोही स्थानका लिलानाथ गौतमले बताउनुभयो । उहाँका अनुसार मजुवाका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिँदा बस्तीनै जोखिममा पर्ने सम्भावना छ । 

अविरल वर्षाका कारण सडकमा लेदो जम्दा आज बिहानदेखि बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कटुञ्जेको सडक अवरुद्ध भएको छ । प्रहरी उपरीक्षक सापकोटाका अनुसार खोसापी–ढुङ्खर्क सडकखण्डको केही स्थानमा पहिरो तथा सडक भत्कँदा यातायात अवरुद्ध भएको छ । पहिरोका कारण कोलाँती–मुलाबारी–गुराँसे सडक अवरुद्ध भएको स्थानीयवासी विष्णप्रसाद चौलागाईंले जानकारी दिनुभयो । 

अविरल वर्षाका कारण बनेपास्थित पुलबजारस्थित सडक आज बिहानदेखि डुबानमा पर्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । ठूला सवारीसाधन मुस्किलले डुबान सडक पार गरिरहेका छन् भने हलुका तथा दुईपाङ्ग्रे सवारीसाधन बाटोमै रोकिएका छन् । 

करेन्ट लागेर मृत्यु

नमोबुद्ध नगरपालिका–८ गैराथोकमा विद्युत्को फ्यूज राख्न ट्रान्सफर्मरको खम्बामा चढ्दा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ फ्यूज राख्ने क्रममा करेन्ट लागेर सोही स्थानका ६० वर्षीय रामशरण अधिकारीको मृत्यु भएको हो । स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै प्रहरीले यसअघि ट्रान्सफर्मरमा फ्यूज गएका बखत अधिकारीले राख्दै आउनुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!