एघार करोड ५३ लाख लागतमा त्रित्रिमावि निर्माण

Posted on: 10 Jul, 2019

असार २५, विदुर । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय रु ११ करोड ५३ लाखको लागतमा निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण ७० वर्ष पुरानो  विद्यालयका पुराना भवनहरु भत्केका थिए ।

नमूना विद्यालयका रुपमा रहेको सो माविका नयाँ भवन निर्माण भएसँगै जीर्ण अवस्थाका भवनमा पठनपाठन गराउनुपर्ने बाध्यताबाट छुट्कारा पाइएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । 

दवाडीका अनुसार जिल्लाकै सबैभन्दा पुरानो विद्यालय निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय एकाइ तथा एशियाली विकास बंैकको आर्थिक सहयोग रहेको थियो ।

उहाँ भन्नुहुन्छ, “हाम्रो यस विद्यालयमा अध्ययनरत विद्यार्थी एक हजार १८३ जना रहेका छन् । नवनिर्मित भवन बालमैत्री, अपाङ्गमैत्री, शान्त र सुरक्षित बनेको छ ।”

विसं २००७ मा निर्मित विद्यालयले नुवाकोट, रसुवा र धादिङ जिल्लाका विद्यार्थीका लागि छात्रावाससमेत सञ्चालन गरेको विद्यालयले जानकारी दिएको छ ।

जेहेन्दार र गरीब विद्यार्थी सो छात्रावासमा राखिएको छ । छात्रावासमा अहिले २० विद्यार्थीलाई खाने, बस्ने र पढ्ने सुविधा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!