बालश्रममुक्त नाउन घरदैलो अभियान

Posted on: 16 Jun, 2019

विमलबहादुर विष्ट असार १,डोटी | डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरपालिकालाई बालश्रममुक्त बनाउनका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आफनो नगर क्षेत्रभित्रमा बालश्रमिक राख्नेलाई कडा कारवाही गर्ने अभियान चलाएको नगरपालिकाले पछिल्लो समय घरघरमा गएर बालश्रम नराख्न पोष्टर, पम्पलेट टाँस गर्न थालेको छ ।

नगरपालिकाभित्रका विभिन्न निजी घर, पसल तथा होटलमा बालश्रमिक राखिएको भन्दै यहाँको नगरपालिकाले बालश्रमिकलाई हटाउन थालेको हो । बालश्रमिक राख्नेलाई नगरपालिकाले दिने सरकारी सेवाबाट समेत बञ्चित गराउने निर्णय गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बालश्रममुक्त नगरको अभियानमा छौँ, कहीँकतै कसैले बालश्रमिक राखेको पाइए तत्कालै कारवाही हुनेछ ।”

प्रदेशमै पहिलो बालश्रममुक्त नगर बनाउनका लागि नगरपालिकाले श्रमिक बालबालिका राखिएको भनिएका घरमा पुगेर अहिलेको अवस्थाबारे बुझ्दै उनीहरुको अवस्थाका विषयमा छलफल गरिरहेको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख भोजराज शर्माले बताउनुभयो । “बालश्रमिक राखेका घरमा पुगेर हामी उनीहरुको अवस्थाका बारेमा बुझ्दैछौँ”,उहाँले भन्नुभयो, “बालश्रमिक रहेका घरमा बालश्रमिक नराख्न कडाइपूर्वक निर्देशन दिँदैछौँ । 

दिपायल सिलगढी नगरपालिकाले बालश्रममुक्त नगरपालिका घोषणाका लागि तीव्ररूपमा अभियान सञ्चालन गरिएको छ । नगर क्षेत्रभित्रका बालश्रमिकलाई शून्यमा झारेर प्रदेशकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउनका लागि विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएको दिपायल सिलगढी नगरपालिकाका समाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामी यो नगरलाई प्रदेशको पहिलो बालश्रममुक्त नगर घोषणा गर्ने गरी काम गरिरहेका छौँ । यो अभियानमा श्रमिक बालबालिकाका अभिभावकलाई पनि साथ दिन आग्रह गरिएको छ ।” स्थानीयवासीका घरमा राखिएका बालबालिकालाई राख्ने अभिभावकले बालश्रमिक स्वीकार गर्न नमानेको सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रकी अध्यक्ष देवकी बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घरदैलोमै पुगेर बालश्रमिक नराख्न अनुरोध गर्दैछौँ, अटेर गर्ने घरधनीलाई कानूनबमोजिम सजाय हुनेछ ।”

पछिल्लो समय नगरपालिकाले प्रत्येक घरमा पुगेर बालश्रमिकको उद्धार तथा पुनःस्थापनाका लागि काम गरिरहेको छ । यसैगरी नगरपालिकाले विपन्न परिवारका बालबालिकालाई निःशुल्क पढाउने भएको छ । 

आर्थिक अवस्था विपन्न भएका कारण बालश्रमिक हुनपुगेका बालबालिकालाई नगरपालिकाले पढाउने भएको छ । अहिलेसम्म नगरपालिकाले २० बालश्रमिकलाई आवासीय खर्च व्यर्होेने गरी विद्यालयमा भर्ना गरिएको नगरपालिकाका समाजिक विकास अधिकृत जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विपन्न भएर बालश्रमिक भएका चार  शहीद स्मृति विद्यालय राजपुर र १६ सिलगढीमा रहेको शैलेश्वरी आवासीय माध्यामिक बिद्यालयमा आवासीय खर्च नगरपालिकाले व्यर्होने गरी हामीले भर्ना गरेका छौँ, अरुलाई पनि भर्ना गरिनेछ ।” 

आफ्नै आर्थिक अवस्थाले अध्ययन गर्न सक्ने भएका परिवारको आयआर्जनमा राहत पुग्नेगरी नगरपालिकाले सहयोग गर्ने भएको छ । डोटीमा रहेका स्थानीय तहमा दिपायल सिलगढी नगरपालिका बालश्रम अन्त गर्नका लागि लागेको पहिलो स्थानीय तह हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!