गोदावरीमा प्राविधिक कलेजको शिलान्यास

Posted on: 15 Jun, 2019

जेठ ३२, ललितपुर | गोदावरी नगरपालिका वडा २ विशङ्खुमा प्राविधिक कलेजको भवन निर्माणको शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले पहिलो चरणमा निर्माण हुन लागेको चार तले भवनको शिलान्यास गर्नुभयो । सरकारले देशमा ल्याएको नयाँ अवधारणाअनुरुप प्रत्येक स्थानीय निकायमा अनिवार्य एक प्राविधिक शिक्षालय हुनुपर्ने व्यवस्थाअनुसार गोदावरीका स्थानीय विद्यार्थीलाई नगरभित्रै सो अध्ययनको व्यवस्था गराउन सेवासुविधाका साथ यस अवधारणा अघि बढेको हो ।

सिलवालले सो कलेज निर्माणको कार्य पूर्ण गर्न कन्द्रीय तहबाट आवश्यक बजेट दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गोदावरीको थप विकासमा यस कलेजले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यसैले सो कार्यप्रति हामी ज्याँदै खुशी भएका छौं । प्रदेशसभा सदस्य लालकुमारी पुनले प्रदेश सरकारबाट विद्यालय भवन निर्माणका लागि बजेट सहयोग गर्ने विश्वास दिलाउनुभयो । आर्थिक वर्ष २०७५/७६ विनियोजित रु एक करोडबाट भवन निर्माणको कार्य शुरु गरिने गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

“आउँदो नगरसभामा अपुग भएको रकम विनियोजन गर्ने छौं”, महर्जनले भन्नुभयो, “नगरपालिकाबाट प्रदेश र केन्द्र सरकारसँग बजेट माग गर्ने योजना अघि बढाउने छौँ ।” नगरपालिकाले कलेज निर्माणका लागि रु २० करोड रकम खर्च हुने अनुमान गरेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!