भूकम्प प्रभावितलाई छुट तथा पुनःसर्वेक्षणको लागि असार १५ गतेसम्म म्याद थपियो

Posted on: 15 Jun, 2019

जेठ ३२, काठमाडौँ | छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत स्थलगत लगत  सङ्कलन असार १५ गतेसम्म हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने समय तोकेको थियो । सबै जिल्लामा लगत सङ्कलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिनुभयो । 

जेठ मसान्तभित्र दर्ता गरी कार्यविधि अनुसार सिफारिश प्राप्त भएका गुनासाको सर्वेक्षणका लागि समय थप गरिएको उहाँले बताउनुभयो । हालसम्म प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा भूकम्प प्रभावित जिल्लाबाट ६० हजार गुनासोकर्ताको विवरण प्राप्त भएको छ । 

प्राधिकरणले असार १५ गतेसम्म आ–आफ्नो क्षेत्रमा खटिएका प्राविधिकमार्फत लगत सङ्कलन गराउन गुनासोकर्तालाई आग्रह गरेको छ । वास्तविक पीडितको यथार्थपरक लगत सङ्कलनमा सहयोग गर्न र वैकल्पिक बासको व्यवस्था भएकालाई सर्वेक्षणमा समावेश नगर्न भूकम्प प्रभावित स्थानीय तहका पदाधिकारीलाई प्राधिकरणले अनुरोध पनि गरेको छ ।

गैरपीडितलाई सिफारिश गरेको पाइएमा सिफारिशकर्तालाई कारवाही गरिने प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताउनुभयो । निजी आवास पुनःनिर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई पहिलेको मुख्य सर्वेक्षणमा छुटेकाको मात्र यसपटक लगत सङ्कलन गरिने जनाइएको छ । सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताको हकमा मात्र सर्वेक्षण भइरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!