दार्चुलामा अज्ञात व्यक्तिबाट एक वृद्धाको हत्या

Posted on: 26 May, 2019

जेठ १२, दार्चुला ।  महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो । 

उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका छन् । सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिएको महाकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिनुभयो ।

 खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ । गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनामा नाति भागेर बाँच्न सफल भएका छन् । वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ । उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन् ।

बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी निरीक्षक रवीन्द्र कठायत नेतृत्वको टोली खटिएको छ । घाइते वीरभान लोकेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!