विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा

Posted on: 22 May, 2019

जेठ ८ बागलुङ । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि गलकोट नगरपालिका–४ का एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । स्थानीय चूडामणि शर्माले वडा नं २ नरेठाँटीमा रहेको झण्डै रु डेढ करोड बजारको दुई रोपनी जग्गा प्राधिकरणलाई प्रदान गर्नुभएको हो ।

उहाँले जग्गाको नामसारी दिई लालपुर्जा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई हस्तान्तरण गर्नुभयो । “शाखा कार्यालय बनाउन जग्गा अभाव भएपछि निःशुल्क दिने निर्णय लिएँ, समयमै भवन निर्माणको काम अघि बढ्ने विश्वास छ”, उहाँले भन्नुभयो । 

भवन निर्माणका लागि केन्द्रबाट बजेट व्यवस्थापनका लागि पहल गरिने केन्द्रका प्रमुख पाण्डेले बताउनुभयो । जग्गा व्यवस्थापनका लागि वडाध्यक्ष बलबहादुर खत्रीलगायतले पहल गर्नुभएको थियो । गलकोट नगरपालिका र आसपासका क्षेत्रमा विद्युत् प्राधिकरणको कुनै प्रशासनिक एकाइ नहुँदा हरेक कामका लागि सदरमुकाम आउनुपर्ने बाध्यता छ । शाखा कार्यालय स्थापना भएपछि प्राधिकरणको दैनिक सेवा प्रवाहदेखि अन्य सुविधा गाउँ तहसम्म विस्तार हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!