छोरीको ज्यान गएपछि न्याय माग्दै बुबा

Posted on: 15 May, 2019

जेठ १, काठमाडौँ । सर्लाहीकी ५ वर्षीया  आकृतिकुमारी साहका बुबा रामप्रवेशले चिकित्सकको लापरवाहीका कारण छोरीको ज्यान गएको भन्दै उच्चस्तरीय छानबिन गरी न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ । 

गत वैशाख २३ गते गौरैता नगरपालिका–१० सिसौटियाकी आकृतिकुमारीको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको थियो । ‘ओ’ पोजेटिभ रगत भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत चढाएका कारण उनको मृत्यु भएको रामप्रवेशको आरोप छ । रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा उनले न्याय नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायमा धाउँदै आएको छु, न्याय पाउन सकेको छैन ।”

छोरीको शल्यक्रिया गर्नुपूर्व दुवै मिर्गाैला ठीक रहेको तर शल्यक्रियापछि दुवै मिर्गौलाले काम गर्न छोडेको रिपोर्ट चिकित्सकले देखाएको रामप्रवेशको आरोप छ । “यसबारे सत्यतथ्य छानबिन हुनुपर्छ”, उहाँले भन्नुभयो, “हारगुहार गर्दा पनि प्रहरीले उजुरी दर्ता मानेन ।” आकृतिको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र डा नारायण घिमिरेले बालिका मृत्युका घटनामा लापरवाही गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!