बलात्कारको आरोपमा जनप्रतिनिधि पक्राउ

Posted on: 14 May, 2019

वैशाख ३१, ओखलढुंगा | बलात्कारको आरोपमा फरार रहेका ओखलढुंगास्थित लिखु गाउँपालिका- ३ का वडा सदस्य विष्णु श्रेष्ठ पक्राउ परेका छन् । बलात्कार आरोपमा उनी विरुद्ध ०७५ चैत ९ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता भएको थियो । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको जनाएको छ। 

बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गते देखि आफूले प्रयोग गर्दै आएको मोबाइल अफ गरी सम्पर्कबिहीन भएका थिए। उनीमाथि आफ्नै इँटाभट्टामा काम गर्ने कामदारलाई बलात्कार गरेको आरोप छ। कारखानामै आफूमाथि वडा सदस्यले चैत ७ गते बलात्कार गरेको भन्दै पीडित युवतीले जिल्ला प्रहरी कार्यालयमा ८ गते उजुरी दिएकी थिइन्।

परिवारका सदस्यले भने उनलाई उजुरीबारे प्रहरी कार्यालयमा छलफल गराउन ओखलढुंगा लाँदै गर्दा बाटोबाटै प्रहरीले पक्राउ गरेको बताएका छन्। आरोपितका छोरा राजु श्रेष्ठले लामो समयसम्म सम्पर्कबिहीन भएका बुबालाई भेटाएपछि मुद्दाका बारेमा छलफल गराउन जिल्ला लैजाँदै गर्दा बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएर पक्राउ गरेको हल्ला चलाएको दावी गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!