विद्युतीय धराप थापेको आरोपमा ५ जना पक्राउ

Posted on: 24 Apr, 2019

बैशाख ११, बुटवल । विद्युतीय धराप थापेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, तिलोत्तमा नगरपालिका– ११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, २८ वर्षीय कृष्ण राना र ४० वर्षीय अमर पुन रहेका छन् ।   

बँदेल मार्न विद्युतीय धराप थापेको र धरापमा परी मृत्यु भएका व्यक्तिको शवलाई खाल्डोमा गाडी घटना लुकाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

यही वैशाख १ गते राति बँदेल मार्न थापेको विद्युतीय धरापमा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका– ११ का ४५ वर्षीय मीनबहादुर गोतामे क्षेत्रीको मृत्यु भएको हो । 

नजिकैको गाउँमा सांस्कृतिक कार्यक्रम हेरेर फर्कंदै गरेका गोतमे एक सातासम्म घर नफर्केपछि उनको परिवारले खोजविनका लागि प्रहरीमा निवेदन दिएको थियो । 

क्षेत्रीको शव आज प्रहरीले उत्खनन गरी निकालेको छ । उनको शव नजिकैको जङ्गलमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक हृदय थापाले बताए । 

सोधपुछका क्रममा उनीहरुले घटना स्वीकार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!