जीर्ण कारागारमा कैदी बन्दीलाई सकस

Posted on: 24 Apr, 2019

बैशाख ११, सुर्खेत ।कर्णालीका अधिकांश कारागार जीर्ण अवस्थामा रहेका छन् । जहाँ जीर्ण भवनमा क्षमताभन्दा दोब्बर कैदी बन्दी बस्दै आएका छन् । क्षमताले धान्नै नसक्ने गरी कैदी बन्दी हुँदा पिउने पानी देखि आवासको समेत अभाव रहेको छ । कर्णालीका जीर्ण कारागार भवनमा कैदी बन्दीको संख्या प्रायः सबै ठाउँमा क्षमताभन्दा दोब्बर छ ।

सुर्खेत कारागारमा भवन अभावमा वर्षौ देखि त्रिपालमुनि बस्न बाध्य भएका छन्, कैदी बन्दी । त्रिपालको झुप्रामा पुस माघको जाडो अनि वैशाख जेठको उखरमाउलो गर्मी मात्र होइन, असारेझरी छेक्न यहाँका कैदीबन्दीलाई हम्मेहम्मे परेको छ । पानी परेको दिन त सुत्ने ठाउँ नै भिजेको हुन्छ । शौचालयको लाइनदेखि खाना र बस्न समस्या उस्तै छ । तर ४६ वर्षदेखि कारागारको स्तरोन्नति हुन सकेको छैन ।


सुर्खेत कारागारमा कैदी बन्दीको संख्या दिनप्रतिदिन बढ्दो छ । तर निमार्णाधीन भवन सम्पन्न गर्न भने राज्यको ध्यान पुग्न सकेको छैन । ५० जनाको क्षमता भएको कारागारमा अहिले दुई सय २६ जना कैदी बन्दी रहेको कारागार शाखा सुर्खेतले जानकारी दिएका छन् । उनका अनुसार कारागारमा ४० जना पुरुषको क्षमता हो तर अहिले ५३ जना थुनुवा र एक सय ४७ जना कैदी गरी दुई सय बस्न बाध्य छन् । १० जना महिला अट्ने कोठामा ३ जना थुनुवा, २१ जना कैदी र २ जना नाबालकसहित २६ जना रहेका छन् ।

सल्यान कारागारको अवस्था पनि त्यो भन्दा कम छैन । भवन मात्रै होइन चर्पीसमेत अभाव छ । कारागारभित्र ८६ जना पुरुष कैदीबन्दीले एउटै चर्पी प्रयोग गर्नुपर्छ । पुरुष र महिला बन्दीका लागि छुट्टाछुट्टै २ वटा चर्पी छन् । ३ जना नाबालकसहित ३० जना महिला बन्दीका लागि पनि एउटा मात्रै शौचालय छ ।डोल्पा कारागारको जीर्ण भवनमा अटाइ–नअटाइ बस्नुपर्ने बाध्यतामा छन् कैदी बन्दी । जिल्ला कारागार कार्यालयका प्रमुख जेलर दिनेशकुमार रावतका अनुसार २० जना क्षमताको कारागारमा ३१ जना छन् । त्यसैले उनीहरूलाई खान, बस्न र सरसफाइमा समस्या छ ।

जाजरकोटका कारागारका जेलर तेजविक्रम शाहका अनुसार २० जना क्षमताका कारागारमा अहिले ४३ जना थुनुवा र कैदी बन्दी छन् । जाजरकोटमा पनि भवनको अवस्था उस्तै जीर्ण छ । कारागारभित्र सानो ठाउँसमेत नहुँदा केही दिनअघि स्थापना गरिएको पुस्तकालय एउटा घुम्तीमा राख्नुपर्ने बाध्यता छ ।रुकुम पश्चिमको अवस्था पनि जाजरकोट भन्दा कम छैन । कारागारका जेलर लोकबहादुर घर्तीका अनुसार २५ जना क्षमताको कारागारमा अहिले एक सय थुनुवा र कैदी छन् । सल्यानका निमित्त जेलर डम्बर विष्टका अनुसार २५ जना क्षमताको कारागारमा तीन नाबालकसहित एक सय १६ जना थुनुवा र कैदी छन् ।

कालीकोटमा पनि क्षमताभन्दा दोब्बर कैदी छन् । २५ जना क्षमताको कालीकोटमा ५ जना महिला र ५९ जना पुरुष गरी ६४ जना कैदी छन् । २० जनाको क्षमता भएको डोल्पामा ३१ जना, ५० जनाको क्षमता रहेको सुर्खेतमा २ सय २६ कैदी बन्दी छन् । मुगु र हुम्लाका कारागार नै छैन भने दैलेख र जुम्लामा कैदीलाई केही सहज छ ।प्रदेशकै उत्कृष्ट मानिने दैलेख कारागारमा ८० पुरुष र २० जना महिला गरी एक सय जनाको क्षमता छ । दैलेखका प्राविधिक सहायक ओम रेग्मीका अनुसार १ सय ९ पुरुष र १६ महिला र ३ जना नाबालकसहित १ सय २८ जना थुवा र कैदी बन्दी छन् ।

जुम्लाका कैदीलाई पनि केही सहज छ । जिल्ला कारागार जुम्लाका निमित्त जेलर शुक्रराज शाहीका अनुसार १ सय २० क्षमताको कारागारमा अहिले ८८ जना कैदी बन्दी छन् ।कारागारको अवस्था यस्तो दयनीय हुँदा पनि भवन निर्माणमा भने राज्यले उचित कदम चालेको छैन । निर्माण कम्पनीको लापरबाहीका कारण सुर्खेत र डोल्पा कारागार भवन निर्माण अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि कारागारको भवन निर्माण गर्न तीन करोड ४३ लाख रकम विनियोजित गरेको छ । सल्यान, सुर्खेत, कालीकोट, रुकुम पश्चिम र जुम्लामा कारागार भवन निर्माणका लागि अहिलेसम्म टेन्डर भएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!