सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु, ४० जना घाइते

Posted on: 14 Apr, 2019

वैशाख १, सर्लाही । छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डको कविलासी नगरपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सर्लाही सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको बिआर ०१ पिबी ५९५१ नम्बरको टाटा भिक्ट्टा गाडी कविलासी नगरपालिका–१० चमेली माई मन्दिर नजिक दुर्घटना हुँदा त्यसमा सवार सर्लाही वागमती नगरपालिका–८ निवासी ४५ वर्षीय चिरञ्जीवी पोखरेलको मृत्यु भएको प्रहरी चौकी कबिलासीले जनाएको छ । मृतक पोखरेल साविक सोल्टी गाविसका पूर्व उपाध्यक्ष एवम् वर्तमान एमालेका स्थानीय नेता हुनुहुन्थ्यो । दुर्घटनामा परी ९ जना घाईते भएका छन् । घाईतेहरुको सर्लाही अस्पताल मलंगवामा समान्य उपचार गरी थप उपचारको लागि भरतपुर तर्फ रेफर गरिएको छ । 

यसैबीच पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशीय बागवानी नजिक आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी जिल्ला रामधुनी नगरपालिका– ९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका– ६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बा३ख १३१८ नम्बरको बस रिजर्भ गरेर घर फर्किंदै गर्दा आज बिहान उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले बताउनुभयो । तीव्र गतिमा रहेको बसको स्टेरिङ मोड्दा सडक छेउको रुखमा ठोक्किन गई दुर्घटना भएको उहाँले बताउनुभयो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर लगिएको छ भने सामान्य घाइतेको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!