सुदूरपश्चिम प्रदेश बन्दले प्रभावीत, कहाँ कहाँ के-के भए ? हेर्नुहोस्

Posted on: 14 Mar, 2019

फागुन ३०, धनगढी । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ । 

आफ्ना पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको हो । 

आज बिहानै देखि सुदूरपश्चिम प्रदेशमा यातायातका साधन, कल कारखाना, पसल, शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् । बन्दका कारण भारतबाट मजदुरी गरी होली मनाउन घर फर्केका यात्रुहरु पनि अलपत्र परेका छन् । टीकापुर, लम्की, अत्तरिया, महेन्द्रनगर तथा पहाडी क्षेत्रहरुमा पनि बन्दको असर परेको छ । 

कैलालीको बडैपुरमा विवाहको गाडीमा पनि बन्द आह्वानकर्ताले आगजनी गरेका छन् । प्रहरीले सुरक्षामा गाडी सञ्चालन गरिरहेकोमा विवाहको गाडीलाई केही नहुने भन्दै छोडिएकोमा विप्लव समूहले आगजनी गरेको हो ।

त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका २ मा पनि विप्लव कार्यकर्ताले ट्रकमाथि तोडफोड गरेको छ । हेटौडाबाट पश्चिमतिर आइरहेको ना ७ ख ५४० नम्बरको मालबाहक ट्रकमाथि तोडफोड गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमो आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ ।

भारतबाट होली मनाउन घर जान लागेका अछाम ढकारी गाउँपालिका वडा नं. ३ का ८ जना पनि धनगढी बसपार्कमा अलपत्र परेका छन् । उनीहरुले बालबच्चासँगै रहेको होटलमा बस्न पैसा नहुँदा अप्ठ्यारो परेको बताए । 

त्यसैगरी बन्दका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ ।  

गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोजेको भन्दै तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिए । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!