सवारी साधन दुरुपयोग प्रकरण: एक कार्यालयले बुझायो स्पष्टीकरणको जवाफ

Posted on: 13 Mar, 2019

चिसाङ शेर्पा । फागुन २९, खोटाङ । सरकारी सवारी साधनको दुरुपयोग गर्ने चार कार्यालयमध्ये एक कार्यालयले स्पष्टीकरणको जवाफ बुझाएका छन् । सार्वजनिक विदामा सरकारी साधन दुरुपयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले स्पष्टीकरणको जवाफ बुझाएका हुन् । विदामा सवारी साधन दुरुपयोग गर्ने चारवटा कार्यालयलाई जिल्ला प्रशासन कार्यालयले लिखित स्पष्टीकरण सोधेको थियो । 

सार्वजनिक विदामा सरकारी साधनको दुरुपयोग गर्ने सिंचाई विकास डिभिजन दिक्तेल, जिल्ला मालपोत कार्यालय र स्वयंम् जिल्ला प्रशासन कार्यालयका कर्मचारीले स्पष्टीकरणको जवाफ बुझाएका छैनन् । सिंचाईले बा १ झ ५२७१ नम्बरको गाडी, मालपोतले बा २ झ १३४८ नम्बरको गाडी तथा प्रशासन कार्यालयले बा १ ब १४४ नम्बरको मोटरबाईक दुरुपयोग गरेको थियो । को १ ब ९४४, बा २ ब १९९४ र को १ ब ९९७ नम्बरको मोटरबाईक भने कुन–कुन कार्यालयको भन्ने पहिचान हुन बाँकी छ ।


पहिचान खुलेका कार्यालयलाई लिखितरुपमा स्पष्टीकरण मागिएकोमा एकवटा कार्यालयबाट स्पष्टीकरणको जवाफ आएको र बाँकी कार्यालयबाट स्पष्टीकरणको जवाफ प्राप्त नभएको सहायक प्रमुख जिल्ला अधिकारी विवेक विडारीले बताउनुभयो । प्राप्त स्पष्टीकरणको आधारमा अन्यलाई आज र भोली ताकेता गरेर प्रतिवेदन तयारगरी प्रमुख जिल्ला अधिकारीलाई बुझाईने उहाँको भनाई छ । सवारी साधनको विवरण चाँही धमाधम प्राप्त हुंदैछ । स्पष्टीकरणको जवाफ चाँही लेखेका छैनन् साथीहरुले, एकचोटी अब सोध्नुपर्छ । उहाँले भन्नुभयो, “नत्र मैले सोध्दा अटेरगरी स्पष्टीकरणको जवाफ नदिएमा प्रजिअको सहयोग लिनेछु ।”

गत फागुन १६ गते सार्वजनिक विदाका दिन सम्बन्धित कार्यालयका कर्मचारीले दिक्तेल नजिक हिउँ खेल्न गाडी तथा मोटरबाईक मुढे लगेको समाचार सञ्चार माध्यममा आएपछि प्रशासनले अनुसन्धान अगाडी बढाए पनि अनुसन्धान फितलो भएको छ । प्रशासनमा गाडी तथा मोटरबाईकको रेर्कड नहुने भन्दै प्रशासनले पाँच दिनमा चारवटा सवारी साधनको पहिचान गरेको थियो । पहिचान भएको हप्तादिन बित्दा समेत प्रशासनले मागेको स्पष्टीकरणको हालसम्म तीन कार्यालयले जवाफ दिएका छैनन् ।   

सरकारी सवारी साधनको दुरुपयोग भएको व्यापक चर्चासँगै बल्ल जिल्ला प्रशासन कार्यालयले सबै कार्यालय र १० स्थानीय तहलाई लिखित रुपमै आफ्नो कार्यालयमा भएका सरकारी गाडी तथा मोेटरबाईकको विवरण माग गरेको छ । यसअघि पनि कर्मचारी र जनप्रतिनिधिबाट पटक–पटक सरकारी साधनको चरम दुरुपयोग हुंदै आएको थियो । सार्वजनिक विदामा उनीहरुले आफू अनुकुल सरकारी साधन आफ्ना पारिवारीक सदस्य, छिमेकी, गलफ्रेण्ड, कार्यकर्ता, शनिबार हटियाबाट घरायसी सामान बोक्न र क्याम्पस जान आउन प्रयोग गरेको पाइएको छ । विदाको दिनमा सरकारी सवारी साधन चलाउन नपाउने र चलाउनु परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्छ । 

प्रहरी,प्रशासनको आँखामा सरकारी सवारी साधन

गत फागुन १६ गते आधा दर्जनबढी सरकारी सवारी साधनको चरम दुरुपयोग भएपछि प्रहरी र प्रशासनले सरकारी सवारी साधनमाथि बिशेष निगरानी बढाएको छ । कर्मचारी, जनप्रतिनिधिले जथाभावी सरकारी सवारी साधन प्रयोग गर्न थालेपछि सार्वजनिक विदामा बिशेषगरी ट्राफिक प्रहरीको आँखा त्यतातर्फ जाने गरेको छ ।

गत शुक्रबार(सार्वजनिक विदा)मा दिक्तेलस्थित पूरानो बेशक्याममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, प्रहरी नायब उपरिक्षक राजकुमार केसी,शसस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक लोकन्द्र सुवदीले विदामा चलाईएको सरकारी साधनको कागजपत्र खोज्ने र सार्वजनिक विदामा सवारी साधन नचलाउन सुझाव दिए । सो दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिका, ऐंसेलुखर्क गाउँपालिका र ओखलढुंगाको(सरकारी कार्यालय नखुलेको) मोटरबाईक चलाइएको पाइएको थियो ।

विदाका दिनमा सिडिओ कार्यालयको पास भएका सरकारी साधन बाहेक अन्यलाई सकभर चल्नै नदिने तथा अतिनै संवेदनशील एम्बुलेन्स, स्वास्थ्य, विधुतका सवारीलाई छोड्ने गरेको खोटाङका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायब निरिक्षक नरेन्द्र पौडेलले बताए । विदामा चल्ने सरकारी साधनलाई कागजपत्र, लाइसेन्स खोजिने र नभएकालाई जरिवाना गर्ने गरिएको उनले बताए । पहिलाको तुलनामा सरकारी सवारी साधन दुरुपयोग कम हुंदै गएको ट्राफिक प्रहरीले दाबी गरे ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!