प्रदेश नं २ मा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु, मृतकको सङ्ख्या ८४ पुग्यो

Posted on: 29 Aug, 2020

भदौ १३, जनकपुर (रासस) : प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित सात जनाको मृत्यु हुनुका साथै १६५ नयाँ सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा महोत्तरी र सिरहामा दुई/दुई तथा पर्सामा तीन जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयका वरिष्ठ डा कमलेशप्रसाद यादवले जानकारी गराउनुभयो । सोअनुरुप महोत्तरीको भङ्गाहा नगरपालिका–१ का ३५ वर्षीय, पिपरा गाउँपालिका–७ का ७० वर्षीय, सिरहाको सुखीपुर नगरपालिका–८ का ५५ वर्षीय र लहान–१८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१२ का ४८ वर्षीय, वीरगञ्ज–२२ का ३७ वर्षीय र वीरगञ्ज–१२ का ६५ वर्षीया एक महिला गरी सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । यो प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ ।

सोही अवधिमा धनुषामा ४९, महोत्तरीमा २७, सर्लाहीमा ४५, रौतहटमा एक, बारामा नौ र पर्सामा ३४ गरी १६५ जना थपिएका छन् । यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या नौ हजार ७९५ पुगेको छ । सोमध्ये आज चार महिला गरी ८७ उपचार गराइ  निको भएर घर फर्केका छन् । अब उपचार गराइ निको भएर घर फर्केनेको सङ्ख्या चार हजार ७५५ पुगेको छ ।

यस प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा ७५० जना बसेका छन् भने होम क्वारेन्टिनमा एक  हजार ६४३, आइसोलेसनमा एक हजार ७४ र होम आइसोलेसनमा तीन हजार ९०२ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!