जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउने खोज्दा दुर्घटनामा

Posted on: 18 Jan, 2020

माघ ४, सिरहा | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु र पाँच घाइते भएका छन् ।

 जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर आज दिउँसो  दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवासी २१ वर्षीय सन्तोषकुमार यादव र  धनगढी नगरपालिका–१२ निवासी २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो । 

ती दुवैलाई उपचारको लागि लहानस्थित अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको उहाँले जानकारी दिनुभयोे । मृतक दुवैको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको र घाइतेका स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  बाख्रालाई जोगाउने क्रममा ट्रयाक्टर अचानक अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीयवासीले बताएका छन् ।

युवक पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सिरहाको लहानबाट प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१० बाट लागुऔषध ब्राउन सुगरसहित सप्तरीको सुरुङ्गा नगरपालिका–८ निवासी ३२ वर्षीय प्रेमकुमार चौधरीलाई पक्राउ गरेको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!