सिरहामा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

Posted on: 29 Jul, 2019

साउन १३, सिरहा | सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुवै दाजुबहिनीघरबाट खेल्न गएकोमा आइतबार बेलुकासम्म घर नफर्किदा अभिभावकले खोज्ने क्रममा स्थानीय पोखरीमा डुबेर मृतावस्थामा दाजुबहिनी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।    घटनाबारे थप आवश्यक अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।

 यसैगरी सिरहा नगरपालिका–३ मखनाहामा खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बस्तुभाउलाई घाँस काट्न गएकी दास खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको हो । 

खाल्डोमा डुबेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि स्थानीय चन्द्रनाराण मेमोरियल मेटर्निटी अस्पताल माडरमा लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!