पर्यटन पदमार्गको पहिचान तथा नक्साङ्कन शुरु

Posted on: 06 Dec, 2018

मङ्सिर २०, काठमाडौँ | सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाभित्रका मुख्य पर्यटकीय आकर्षणको केन्द्र तथा पदमार्गहरुको पहिचान तथा नक्साङ्कन शुरु गरेको छ । 

पर्यटनको क्षेत्रमा काम गरिरहेको इटालियन संस्था स्याटसँग मिलेर गरिमा भोयज ट्राभल्स एण्ड टुर्स प्रालिको सहजीकरणमा मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा पर्यटन पदमार्गको नक्साङ्कन गरिएको प्रालिका प्रबन्ध निर्देशक रवीन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यही मङ्सिर छ देखि १२ गतेसम्म इटालीका पर्यटनविज्ञ र मेलम्ची नगरपालिकाले पर्यटकीय आकर्षणका केन्द्र र पदमार्गहरुको नक्साङ्कन गरेको हो । 

मेलम्ची नगरमा पर्यटन र कृषिको माध्यमबाट मेलम्चीलाई समृद्धितर्फ कसरी उन्मुख गराउन सकिन्छ भन्ने उद्देश्यले सो नक्साङ्कन कार्य गरिएको हो । काठमाडौँबाट २२ किमीको दूरीको भोटेचौर पातले छाँगो, चमेरे गुफालगायत अन्य चार महत्वपूर्ण गुफाको नक्साङ्कन गरिएको छ । 

नगरपालिकाको तपचुली डाँडा अर्को आकर्षण केन्द्र हो । यहाँ इलामको कन्याम बिर्साउने चिया बगान छ । चिया बगानबाट केही समयको यात्रापछि हैबुङग हँुदै चिसापानी डाँडामा पुग्न सकिन्छ । चिसापानीबाट चारैतिर मनोरम हिमालका दृश्य देख्न सकिन्छ । 

टोलीले भोदेचौरदेखि थाना भञ्ज्याङगढीसम्म पनि नयाँ पर्यटन पदमार्गको पहिचान गरेको छ । गढी पृथ्वीनारायण शाहले युद्ध लडेको ऐतिहासिक स्थान हो । उक्त गढी संरक्षणका लागि नगरपालिकाले पुरातत्व विभागसँग समन्वयन गरी ऐतिहासिक कुराको खोजी गरिने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो । नगरपालिकाले पर्यटकीय केन्द्रको अलावा आगामी दिनमा पर्यटकीय पदमार्गको नक्साङ्कन गर्दै जाने प्रमुख अर्यालले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!