सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव भेटियो

Posted on: 13 Sep, 2020

भदौ २८, सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका तीन जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

नागपुजेमा १५ र भीरखर्कमा नौ गरी अझै २४ जना बेपत्ता छन् । उनीहरुको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।

सिन्धुकोटका नौ घर जोखिममा

 मेलम्ची नगरपालिका–५ सिन्धुकोट गोल्पुटोलमा गएरातिको अविरल वर्षापछि आएको पहिरोको कारण बस्ती जोखिममा परेको छ । नौ घर रहेको उक्त बस्तीमा चारैतिर पहिरो आउन थालेपछि बस्नका लागि जोखिम भएको हो । तत्काल बस्ती नसारेमा थप विपत्तिको सामना गर्नुपर्ने स्थानीय सुनिल मिजारले बताउनुभयो । त्यसैगरी सिन्धुकोटकै कमल श्रेष्ठ, चेतकुमारी राना, रामबहादुर राना, कृष्णबहादुर मिजार, डल्ली सार्की र कुमार मिजारको घर पनि जोखिममा परेको छ ।

यस्तै, जुगल गाउँपालिकाको चनौटेमा पाँच घर पहिरोमा परेको छ । दुई घर पूर्णरूपमा पुरिएको छ भने तीन घरमा क्षति पुगेको छ । एक जना घाइते भएको गाउँपालिका उपप्रमुख सिर्जना तामाङले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!