सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले १५ घर बगायो, दुई जनाको मृत्यु, १८ जना बेपत्ता

Posted on: 09 Jul, 2020

असार २५, चौतारा । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताउनुभयो ।

बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो

गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताउनुभयो ।

“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गर्नुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!