सुकुटेमा पर्यटन महोत्सव फागुन १७ देखि

Posted on: 27 Feb, 2020

फागुन १५, चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत सुकुटेमा यही फागुन १७ देखि २० गतेसम्म पर्यटन महोत्सव गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धु पर्यटन व्यवसायी सङ्घले महोत्सवको आयोजना गर्न लागेको सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा मोटरबोटको उद्घाटनका साथै शाहसिक जलयात्रा, म्याराथन दौड, सुनकोशी बिच भलिबल प्रतियोगिता, रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अनुमानित रु ३० लाख खर्च लाग्ने महोत्सव सफल बनाउन वाग्मती प्रदेश, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय चौतारा साँगाचोकगढी नगरपालिका बलेफी र सुनकोशी गाउँपालिका प्रवद्र्धक रहेका छन् । 

महोत्सवमा आन्तरिक र वाह्य पर्यटक बढीभन्दा बढी सङ्ख्यामा भित्र्याइ स्थानीयस्तरमा उत्पादित सामग्री सङ्कलन गरी २० प्रतिशत सहुलियतमा जैविक खाना प्रदान गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाअन्तर्गत अरनिको राजमार्गमा पर्ने सुकुटे राजधानीबाट ६८ किलोमिटरको दूरीमा पर्दछ । त्यहाँ सुविधा सम्पन्न १० रिसोर्ट सञ्चालनमा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!