मेलम्ची खानेपानी ट्याङ्कीका ठेकदार मृत भेटिए

Posted on: 12 Feb, 2019

माघ २९, ललितपुर । ललितपुरको ढोलाहिटीमा मेलम्ची खानेपानीको ट्याङ्कीका ठेकदार मृत भेटिएका छन् । भारतको बेतिया मतुवाच घर भइ हाल ललितपुर बस्दै आएका ४९ वर्षीय ईश्वर महतो मृत भेटिएका हुन् ।

ललितपुर प्रहरी परिसरका उपरीक्षक (एसपी) गोविन्द थपलियाका अनुसार महतो पानी नभएको नयाँ रिजर्ब ट्यांकीभित्र मृत भेटिएका थिए । मंगलबार बिहान प्रहरीलाई घटनाबारे जानकारी आएलगत्तै अनुसन्धान थालिएको एसपी थपलिया बताउँछन् । 

अनुसन्धान अधिकारीहरुले घटनास्थलको मुचुल्काको काम थाले पनि मृतकको परिवार नआएकाले पोष्टमार्टमका लागि पठाइएको छैन । स्रोतका अनुसार महतोको आफन्तले वीरगञ्जबाट आउँदै गरेको प्रहरीलाई जानकारी गराएपछि थप कानुनी प्रक्रिया अघि बढेको छैन ।

नयाँ बन्दै गरेको ट्यांकीमा उनी खस्नु भवितव्य हो या नियोजित बन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्युको कारणबारे भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुनेछ ।

ट्याङ्की करिब १५/२० फिट गहिरो थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!