सभापति देउवाद्वारा बेपत्ता व्यक्तिको चाँडो उद्धार गर्न माग

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर पहिरामा परी बेपत्ता व्यक्तिको जतिसक्दो चाँडो उद्धार गर्न र घाइतेको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालीकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरामा परी बेपत्ता व्यक्तिको  उद्धार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै  घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन पनि  अनुरोध गरिएको छ  ।

पूर्वप्रधानमन्त्री देउवाले पहिरामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पहिराका कारण घरबास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गरेर उचित बासको प्रबन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि उहाँले सरकारसँग माग गर्नुभएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!