चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

Posted on: 12 Aug, 2020

साउन २८, सिन्धुपाल्चोक। कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

 नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पिपिइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर  र  दुई हजार थान पञ्जा सहयोग गरेको हो । त्यस्तै आइसोलेसन मास्क दुई हजार थान तथा  एन नाइन्टीफाइफ मास्क र मेडिकल मास्क पनि पाँच हजार थान दिइएको छ ।

चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगका लागि भिटिएम दुई हजार थान र पिसिआर रिएजेन्ट दुई हजार थानसमेत सहयोगस्वरुप उपलब्ध गराएको  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेका अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै प्रजिअ ढकालले यो अहिलेसम्म नेलम काउन्टीले गरेकोमध्येकै ठूलो सहयोग भएको उल्लेख गर्नुभयो ।

नेलम काउन्टीका समकक्षीसँग आफुले भाइचाराको सम्बन्ध विस्तार गरेका कारण यती धेरै सँख्यामा प्राप्त पिपिइ सेट तथा स्वास संकलन गर्ने सामग्री र पिसीआर रिएजेन्ट समेत सहयोग पाँउदा जिल्लालाई ठुलो राहत मिलेको ढकालले बताउनुभयो  । यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।

प्रजिअ ढकालका अनुसार तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले तिब्बत, नेलम भन्सार कार्यालयका उपनिर्देशक  साङ बुमार्फत सो सामग्री बुझनुभएको हो । मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पूरा गर्न र निर्मलीकरण गर्न एकदुई दिन लाग्नेछ । त्यसपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चौताराको भण्डारमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा जिल्लामा आवश्यक परेका ठाउँमा तुरुन्तै  परिचालन गरिनेछ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!