सुनकोशी किनारमा बस्नेलाई सर्न आग्रह

Posted on: 21 Jul, 2020

साउन ६, सिन्धुली | जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी आसपासमा बासोबास गर्ने नागरिकलाई सर्न र सर्तकता अपनाउन आग्रह गरेको छ । केरुङ च्छो नामको पोखरी फुट्न सक्ने खतरालाई मध्यनजर गर्दै सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा बासोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई पोखरी फुट्न सक्ने र भोटेकोशी हुँदै सुनकोशी नदीमा अहिले भइरहेको भन्दा ६० मिटरमाथि पानीको बहाव बढ्ने खतरा रहेकाले नदी किनारमा बस्ने नागरिकलाई सर्न र आसपासका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक, स्थानीय सञ्चारमाध्यममार्फत जोखिममा पर्न सक्ने बासिन्दालाई सार्न र सतर्कता अपनाउन आग्रह गरिएको छ । सार्नैपर्ने क्षेत्रका बासिन्दालाई अन्यन्त्र सार्न स्थानीय तह र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । उक्त पोखरी फुट्दा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न र सार्नैपर्ने परिवारको सङ्ख्या सङ्कलन तथा आवश्यक व्यवस्थापनका गर्न लागिपरेको उहाँको भनाइ छ ।

सुनकोशी नदी किनारमा रहेका सुनकोशी गाउँपालिका, गोलन्जोर गाँउपालिका र फिक्कल गाउँपालिकालगायतका स्थानीय तहहरुका बजार र मानवबस्तीलाई बगाउन सक्ने र ठूलो क्षति पुर्याउन सक्ने सम्भावना रहेकाले प्रशासनले नदी किनार खाली गर्न अनुरोध गरेको छ । यसबारे आवश्यक जानकारी लिन आफ्नो स्थानीय तह, नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!