आगलागी हुँदा चार घर जलेर नष्ट

Posted on: 04 Apr, 2020

चैत २२, सर्लाही | सर्लाहीको हरिवन नगरपालिकामा विद्युत् चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट रु ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हरिवन—२ अत्रौली स्कूल टोलमा स्थानीय रामबाबु महतोको घरको बिजुली चुहावट हुँदा आगलागी भएको थियो ।

आगलागीबाट रामबाबुको घरसँगै अरु तीन वटा घर पनि जलेको छ । आगलागीबाट रामबाबु महतोको काठ र खपडाले बनेको दुईतले घर पूर्णरुपमा जल्दा रु २० लाखको क्षति भएको छ । त्यस्तै निजको छोरा राजकिशोर महतोको एकतले कच्ची घर पनि पूर्णरुपमा जलेर रु पाँच लाख बराबरको क्षति भएको छ । 

आगलागीबाट स्थानीय लालबाबु महतोको एकतले घर जलेर रु १५ लाख बराबरको क्षति भएको छ भने स्थानीय रामजनम हताको दुईतले घरको आधा भाग जलेर नष्ट भएको छ । आगलागीबाट उनको रु दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगो हरिवन इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । 

यसैबीच जिल्लाको धनकौल गाउँपालिकामा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी हुँदा तीन जनाको फुसको घर जलेर नष्ट भएको छ । धनकौल गाउँपालिका–२ निवासी रामप्रसाद रायले बालेको घुरबाट आगलागी हुँदा निजको फुसको घर जल्नुका साथै उनको छिमेकी जादु राय र कैलाश रायको फुसको घर शुक्रबार राति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलागीबाट रु ७५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको स्थानीयवासी राजेश झाले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!