सर्लाहीमा विषालु च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी

Posted on: 30 Sep, 2019

असोज १३, सर्लाही । विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । 

बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, छ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाति अविनाश माझी, ३१ वर्षीय माइला छोरा बिल्टु माझी, उनकी २७ वर्षीया श्रीमती अञ्जुदेवी माझी, बिल्टुका १० वर्षीय छोरा अमित माझी, पाँच वर्षीया छोरी प्रियङ्का माझी र तीन वर्षीया छोरी मेनुका माझी रहेको प्रहरीले जनाएको छ । 

बिरामी भएका बृजकुमार माझीलाई स्थानीयवासी अमृत हेल्थ केयर बयलबासमा उपचारपश्चात् घर पठाइएको छ भने बाँकी ११ लाई आइतबार राति उपचारका लागि जनकपुर पठाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिनुभयो । 

बिरामी परेकाहरुको आर्थिक स्थिति कमजोर रहेका कारण वडा कार्यालय र प्रहरीको सहयोगमा बिरामी परेकालाई जनकपुर पठाइएको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!