सर्लाहीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु, चार जना घाइते

Posted on: 13 Jun, 2019

जेठ ३०, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै  मोटरसाइकल चालक हुन् ।

दुवै मोटरसाइकलमा चालकसहित तीन÷तीन जना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभयो । ना२५प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन् । दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन भने ज२प ७८८६ नंको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ । 

पोखरीमा युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाको बजार क्षेत्रमा रहेको जनसागर पोखरीमा एक युवाको शव फेला परेको छ । फेला परेको शव मलङ्गवा नगरपालिका–४ बस्ने ३० वर्षीय रवि मेस्तर रहेको छ । ना२ह १२२३ नंको टेम्पोसहित उनको शव पोखरीमा फेला परेको हो ।

 मृतकको शरीरभरि गहिरो घाउ देखिएकाले उनलाई कसैले हत्या गरेर पोखरीमा फालेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । शव परीक्षणपछि मात्र घटनाबारेमा केही भन्न सकिने सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब राठोरले बताउनुभयो । मृतक मेस्तरलाई अन्य ठाउँमा हत्या गरेर टेम्पोमा राखेर पोखरीमा टेम्पोसहित फालेको हुनसक्ने स्थानीयवासीको भनाइ छ ।

 मृतक मेस्तर मलङ्गवा नगरपालिकामा सरसफाइ गर्ने कर्मचारीको रुपमा काम गर्दै आएका थिए । शवसँगै पानीमा फेला परेको टेम्पो मृतकका आफ्नै काका मिश्रीलाल मेस्तरको रहेको र उनी अहिले सम्पर्कविहीन रहेको प्रहरी नायब उपरीक्षक राठोरले जानकारी दिनुभयो । पोखरीमा टेम्पो खसेको अवाज सुनेर राति करीब ११ः३० बजे नै मृतकको शव स्थानीयवासीले निकालेका थिए भने टेम्पो आज बिहान प्रहरीले डोजरको सहयोगले निकालको छ । शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!