सप्तरीमा आगलागीबाट पचास लाखको क्षति

Posted on: 17 Apr, 2019

वैशाख ४, सप्तरी । सप्तरीको राजविराजस्थित मुख्य बजारमा आज आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । बजारका पसलका रेडिमेड कपडा, फ्रिज, मोबाइल, घडी, मदिरा, भाँडाकुँडा नष्ट भएको छ । 

आगलागीबाट राजविराजस्थित शहीद दशन चोकमा रहेका सात पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीबाट पशुपति रेडिमेड स्टोर, शौरभ शीतल महल, श्री पशुपति होटल, अमृत वैष्णव होटल, विशाल मोबाइल सेन्टर, पशुपति कोल्ड स्टोर र चौधरी सिको टाइम पसलमा क्षति पुगेको छ ।

आगलागी भएको पशुपति कोल्ड स्टोरका सञ्चालक अमृत साहका अनुसार घर र पसलहरु रहेको राजविराजको मुख्य बजारमा लागेको नियन्त्रणमा लिन राजविराज र हनुमाननगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्रलाई तीन घण्टा लागेको थियो । 

बिजुली सर्ट भई पशुपति स्टोरबाट आगलागी शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले आगलागी लागेको घटनाबारे र क्षतिको बाँकी विवरण सङ्कलन कार्य भइरहेको जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!