चर्चित सल्यानी गायक भरत परियारले ल्याए ‘तिम्रै तस्विर आँखैमा झलल’ (भिडियोसहित)

Posted on: 18 May, 2018

जेठ ४, काठमाडौँ । सल्यानी लोकदोहोरी गायक भरत परियारले नयाँ लोकदोहारी गीत सार्वजनिक गरेका छन् । 

‘तिम्रै तस्विर आँखैमा झलल…’ बोलको मौलिक लोकदोहोरी गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् । गीतमा भरत परियार र रिता के.सी.को स्वर रहेको छ । यो गीतको शब्द, संगीत धनराज वास्तविकको रहेको छ । गीतको एरेन्ज सुरेश शाहीले गरेका हुन् ।

शंकर विसीको निर्देशनमा यो डान्सिङ नम्बरको गीतको म्यूजिक भिडियो तयार गरिएको छ । भिडियोमा शंकर विसी र रिना थापा मगरले अभिनय गरेका छन् । दुर्गा पौडेलले खिचेका दृश्यलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

गीतमा कर्णाली र राप्तीको वर्णन गरिएको छ । गीतले भौगोलिक मौलिकता पनि बोकेको छ । गायक भरत परियार भन्छन्, ‘पछिल्लो समय मौलिक लोकदोहोरी हराउँदै गएकोको अवस्थामा यो गीत तयार गर्ने जमर्को गरेँ ।’ 

उनले विकट कर्णालीको केटी र राप्तीको केटाबीचमा प्रेम भए पनि भेटघाट हुन नसकेको विषयमा केन्द्रित भएर गीत तयार भएको बताए । मौलिक गीत खोज्ने श्रोताहरुलाई यो गीत मन पर्ने अपेक्षा पनि भरतले गरेका छन् । 

अहिले नेपाली गीत, संगीतको मौलिकता देखाउन धेरै महङ्गो भएको तर दर्शकसम्म पुग्दा सस्तो भएको उनले गुनासो गरे । मौलिकता बेचेर बाँच्ने अवस्था नभए पनि लोकगीत, लोकसंगीत र नेपाली पन हराउन दिनु हुँदैन भन्ने सोचेर यो गीत तयार पारेको उनी बताउँछन् ।

भरतको यो तेस्रो गीत हो । उनले यसअघि ‘हर खुसी दिन्छु तिमीलाई…’ र ‘आकाशैमा जुन र तारा…’ जस्ता लोकदोहोरी गीत सार्वजनिक गरिसकेका छन् । विगत पाँच वर्षदेखि नेपाली गीत संगीतमा लागेका भरत यो पेशालाई आगामि दिनमा पनि निरन्तरता दिने बताउँछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!