कपुरकोटले ल्यायो २८ करोड ३३ लाख बराबरको बजेट

Posted on: 14 Jul, 2019

असार २९, सल्यान | भौतिक पूर्वाधार र सामाजिक विकासलाइ प्राथमिकतामा राखेर सल्यानको कपुरकोट गाउँपालिकाले बजेट ल्याएको छ । आर्थिक वर्ष २०७६।०७७ को लागी कपुरकोटले २८ करोड ३३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो । गाउँपालिकाका उपाध्यक्ष एवम् कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक तिला बुढामगरले आइतबार प्रस्तुत गरेको बजेटमा भौतीक पूर्वाधार तर्फ ६ करोड १३ लाख ५० हजार विनियोजन गरिएको छ । जुन जम्मा पूँजीगत बजेटको ४६.२६ प्रतिशत रहेको बुढा मगरले उल्लेख गरिन् ।

जसमा सडक, यातायात तथा संचार तर्फ १ करोड ६७ लाख, गाउँपालिका भवन निर्माण क्रमागत शिर्षकमा २ करोड, संघ तथा प्रदेश संगको साझेदारीमा वडा कार्यालयको भवन निर्माण गर्न ४० लाख रुपैयाँ विनियोजन भएको छ । ग्रामिण विद्युतीकरण क्रमागत कार्यक्रमका लागि  १ करोड ५० लाख रुपैयाँ कपुरकोट गाउँपालिकाले विनियोजन गरेको छ भने थोरै घर धुरी भएका र विद्युतको लाइन पुर्यायाउन नसकिने ठाउँहरुमा वैकल्पिक उर्जा जडान गर्नको लागि  १० लाख विनियोजन गरेको छ । यस्तै कालिका मा.वि. पूर्वाधार निर्माणमा  २० लाख, जीवनज्योति मा.वि. पूर्वाधार व्यवस्थापनको लागि  ७ लाख तथा कपुरकोट बहुमुखी क्याम्पस पूर्वाधार निर्माणमा  १० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले पूँजीगत बजेटको २६ प्रतिशत रकम सामाजिक विकासमा विनियोजन गरेको छ । जुन रकम ३ करोड ४३ लाख २५ हजार रहेको छ । यसमा शिक्षा, युवा तथा खेलकुदका लागी १ करोड, स्वास्थ्य तथा पोषणमा ४५ लाख, पूर्ण सरसफाईयुक्त गाउँपालिका निर्माणको लागि १० लाख, खानेपानी तर्फ ७३ लाख र वालवालिका तथा जेष्ठ नागरिक तर्फ २० लाख तथा ‘दिदीवहिनीसंग उपाध्यक्ष’ कार्यक्रमका लागी २० लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘संस्कृतीको संरक्षण, हाम्रो पहिचान’ कार्यक्रमको लागि ५ लाख रुपैया विनियोजन भएको छ ।

आर्थिक विकास अन्तर्गत कृषि क्षेत्रको विकासको लागी ४५ लाख, पशु विकास कार्यक्रमका लागी ३० लाख र उद्योग, वाणिज्य तथा पर्यटन विकास तर्फ २० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वन, वातावरण, भूसंरक्षण तथा विपद व्यवस्थापन क्षेत्रगत योजना कार्यक्रममा जम्मा रु ४४ लाख २५ हजार विनियोजन गरिएको छ भने सार्वजनिक सेवा, संस्थागत क्षमता विकास, सुशासन र सुदृढिकरण क्षेत्रगत योजना कार्यक्रममा ८४ लाख रुपैयाँ कपुरकोटले विनियोजन गरेको छ ।

गत असार १० गते गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाइ बजेटले सम्बोधन गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारि दिए ।

कपुरकोट गाउँपालिकाले संघिय सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट ८ करोड ४ लाख, कर्णाली प्रदेश सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट १ करोड २९ हजार, संघिय सरकार राजश्व बाँडफाँड शिर्षकबाट रु ६ करोड ४३ लाख, कर्णाली प्रदेश सरकार राजश्व बाँडफाँड शिर्षकबाट रु ७ लाख ३ हजार, संघिय सरकार सशर्त अनुदान शिर्षकबाट रु ९ करोड ६३ लाख, आन्तरिक राजश्व बाट २५ लाख प्राप्त हुने र संचित कोषमा गत बर्षको मौज्दात २ करोड ९० लाख ६८ हजार रुपैयाँ रहने अनुमान गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!