पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

Posted on: 19 Jul, 2019

साउन ३, रुपन्देही  | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताउनुभएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने सरकारको योजना रहेको बताउनुभयो । “प्रदेशका महत्वपूर्ण गन्तव्यसम्म पुग्नका लागि सडक पूर्वाधारमा लगानी गर्दैछाँै”, उहाँले भन्नुभयो । प्रदेशका विभिन्न स्थानमा सांस्कृतिक डबली निर्माणका लागि काम शुरु भएको जानकारी गराउँदै उहाँले प्रदेशका सांस्कृतिक सम्पदालाई पर्या–पर्यटनसँग जोडेर विकास गर्ने जानकारी दिनुभयो । 

मुख्यमन्त्री पोखरेलले लुम्बिनीको बसाइँ अवधि लम्ब्याउन चक्रपथ निर्माण र रामग्राममा बुद्धकालीन सङ्ग्रहालय बनाउने योजना अगाडि सारेको बताउनुभयो । प्रदेशको बजेट खर्चबारे कुरा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको बजेट विवरण अपूर्ण रहेको बताउनुभयो । 

“लेखा नियन्त्रक कार्यालयले प्रदेश सञ्चित कोषको रकम मात्रै निकालेर सार्वजनिक ग¥यो तर सङ्घीय सञ्चित कोषको रकम त्यसमा सामेल छैन । खानेपानी,  सिँचाइ र सडकको योजना सोझै केन्द्रीय कोषबाट प्राप्त गरेका थियौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले केन्द्रीय कोषबाट प्राप्त गरेको रकम सामेल गरी आर्थिक मन्त्रालयले केही दिनमै यथार्थ विवरण सार्वजनिक गर्ने बताउनुभयो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले बिहीबार आर्थिक वर्ष ०७५-०७६ मा ६३ प्रतिशत बजेट खर्च भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयले गत वर्षको प्रारम्भिक विवरण सार्वजनिक गर्दै चालूतर्फ ७० प्रतिशत र पूँजीगततर्फ ५९ प्रतिशत खर्च भएको जनाएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!