राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारले चासो देखाए

Posted on: 01 Jan, 2019

पुष १७, खस्यौली (रासस) | प्रदेश नं ५ भित्र रहेका राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारले चासो देखाएको छ । 

आज बुटवलमा मुख्यमन्त्री शङकर पोखरेललाई राष्ट्रिय गौरवका विभिन्न आयोजनाका प्रमुख तथा प्रतिनिधिले भेट गरी आयोजनाका विविध विषयमा जानकारी गराउँदै आयोजनाका बजेट, समस्या र चुनौतीका बारेमा अवगत गराएका हुन् । 

सो अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न आग्रह गर्दै “जहाँ समस्या हुन्छ, त्यहाँ समाधानका लागि प्रयास गरिनेछ”, भन्नुभयो । राष्ट्रिय गौरवका आयोजनाप्रति प्रदेश सरकारको मूल दायित्व नभएपनि प्रदेश सरकारको चासो बढी हुने उल्लेख गर्दै उहाँले आयोजनाको बाँकी समयको सदुपयोग गर्न सम्बन्धित सबैमा अनुरोध गर्नुभयो । 

मुख्यमन्त्री पोखरेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउन जोड दिँदै कतिपय आयोजनाको काम ढिलो भएको चिन्ता व्यक्त गर्नुभयो । 

प्रदेश नं ५ मा राष्ट्रिय गौरवका आयोजनाका रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बबइ सिँचाइ आयोजना, पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, बेलहिया—बुटवल सडक परियोजना, सालझण्डी–सन्धीखर्क—ढोरपाटन सडक आयोजना, क्षेत्रीय शहरी विकास, बुटवल सभाहल तथा प्रर्दशनी केन्द्र, भेरी–बबइ डाइभर्सन, सिक्टा सिँचाइ आयोजना, लुम्बिनी विकास कोषलगायत पर्दछन् । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका अधिकृत महेश नेपालीले विमानस्थलको ८० प्रतिशत काम पूरा भएको जानकारी दिनुभयो । सिक्टा सिँचाइ आयोजनाका निर्देशक कृष्णप्रसाद नेपालले यो आयोजनाको भौतिक प्रगती ५७ प्रतिशत मात्रै रहेको जानकारी दिदैं सिक्टा सिंचाइ आयोजनामा घुलनशिल माटोको समस्या रहेको जानकारी दिनुभयो । 

बेलहिया–बुटवल सडक परियोजनाका प्रमुख जिवेन्द्र मिश्रले सडकमा भारतीय मालवाहक ट्रकको ठूलो समस्या देखिएको उल्लेख गर्दै आगामी चैत्रसम्ममा सबै काम सम्पन्न हुने जानकारी दिनुभयो । 

क्षेत्रीय शहरी विकास परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले शहरी विकासको ७५ प्रतिशत काम सकिएको उल्लेख गर्नुभयो । 

उक्त अवसरमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरी, मुख्य सचिव डा तिर्थराज ढकाल लगायतले आयोजनाका बारेमा जिज्ञासा राख्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!